बिर्तामोड, कात्तिक १५ । बिर्तामोड नगरपालिकामा कोरोना संक्रमण भयावह बन्दै गएपछि स्थानीयले लकडाउन गर्न माग गरेका छन् ।

आवतजावत र भीडभाडमा कडाइ नगरिँदा कोरोना संक्रमण तीब्र रुपमा बढेकाले यस्तै रहे परिस्थिति अझ भयावह बन्न सक्ने चिन्ता गर्दै नगरबासीहरुले केही दिनका लागि भएपनि लकडाउन गर्न माग गरेका हुन् । बिर्तामोडमा हालसम्म कोरोना संक्रमणबाट ६ जनको मृत्यु भइसकेको छ । हालसम्म बिर्तामोडका ३४० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १४६ जना निको भएका छन् । संक्रमितमध्ये १८८ जना आइसोलेसनमा रहेका छन् । १८४ जना घर र ४ जना अस्पतालको आइसोलेसनमा रहेको बिर्तामोड नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । बिर्तामोडमा लगातार कोरोना संक्रमितको मृत्यु भइरहेको छ । शुक्रबार एकजनाको मृत्यु भएको थियो भने शनिबार दुईजना थपिएका छन् ।त्यस्तै शनिबार ४ परुष र १ महिला गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु स्थानीय रहेका छन् । त्यसको अघिल्लो दिन शुक्रबार १६ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेहरुमा एकजना चिकित्सक , दुईजना सरकारी स्वास्थ्यकर्मी रहेका छन् । स्वास्थ्यकर्मीमा बिर्तामोड नगरपालिकाका एकजना र अर्का बिर्तामोड घर भई रंगेलीमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् । त्यस्तै शुक्रबार बिएण्डसी हस्पिटलका तीनजना स्टाफ नर्सलाई पनि संक्रमण पुष्टि भएको छ । यसरी बढ्दो रुपमा संक्रमण फैलिदै गएपछि नगरबासीहरु चिन्तित देखिएका छन् । बिर्तामोड नगरपालिका कोरोनाको हटस्पट बन्न लागेकोमा उनीहरुको त्रास र चिन्ता हो । परिस्थिति भयावह बन्दै गएकाले नगरपालिकाले लकडाउन गर्नुको विकल्प नभएको बिर्तामोड ३ का अफरोज खानले बताए । उनले संक्रमणलाई केही हदसम्म नियन्त्रण गर्न लकडाउन आबश्यक भएको धारणा राखे । त्यस्तै बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले लकडाउनका लागि नगरबासीका तर्फबाट ठूलो दवाव आइरहेको बताए । उनले पहिला लकडाउनको विरोध गर्नेहरुले अहिले लकडाउनको माग गरिरहेको बताए । ‘ कि लकडाउन गर्नुपर्यो कि त्यसको विकल्पमा केही गर्नुपर्यो ’ उनले भने ,‘ लकडाउनको विकल्पमा जनचेतनामूलक कार्यक्रम , अनिवार्य मास्कजस्ता उपाय गरिन आबश्यक छ ।’
त्यसैगरी नगरपालिकाले पनि पिसिआर परीक्षणको दायरा बढाउन आबश्यक भएको उनले माग गरे । कोरोना संक्रमितको सँखया बढ्दै जाँदा नगरपालिकाले पिसिआर परीक्षणको दायरा बढाउन सकेकोे छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्