झापा , कात्तिक १६ । झापामा आज फेरि तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका , कमल गाउँपालिका र गौरादह नगरपालिकाका तीनै जना पुरुष हुन् । दमक ७ का अन्दाजी ५० बर्षिय वस्ती थरका पुरुषको नोबेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार हिजो मात्रै नोबेल हस्पिटल पुर्याइएका ती ब्यक्तिको कोरोना परिक्षणको रिपोर्ट हिजो नै पोजिटिभ आएको थियो । उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ । दशैं शुरु भएयता मात्रै दमकका कोरोना संक्रमित ७ जनाको मृत्यु भएको तथ्याङक छ । त्यस्तै कमल गाउँपालिका वडा नं ५ मंगलबारेका ७२ वर्षका खरेल थरका एक बृद्धको घरमै मृत्यु भएको छ । मिर्गौलाका विरामी ती बृद्धको विराट मेडिकल कलेज हस्पिटल विराटनगरमा संक्रमण पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३ पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् । त्यस्तै गौरादह वडा नं ४ मिलन चोकका ७४ वर्षिय कृष्णबहादुर निरौलाको गएराति ९ बजे मृत्यु भएको हो । उनलाई कात्तिक १३ गते संक्रमण पुष्टि भएको थियो । उनको घरैमा मृत्यु भएको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।तथ्यांकमा तीनजनाको विवरण खुलेपनि नेपाली सेनाले भने आज झापामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । हिजो पनि झापामा तीन जनाको मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्