बिर्तामोड , कात्तिक १६ । पूर्वाञ्चल सडक डिभिजन कार्यालयले म्याद नथप्ने भएपछि बिर्तामोड—गरामनी सडक खण्डको निर्माण कार्य अलपत्र परेको छ ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय दमकले त्यस सडकका लागि म्याद थप्ने कुनै आधार नभएको भन्दै म्याद थप्न अस्वीकार गरेको हो । लकडाउनले काम प्रभावित भएको भन्दै ठेकेदारले ६महिना म्याद थप्न सडक डिभिजन कार्यालयसँग माग गरेका थिए । गत साउन ६ गते ६ महिना म्याद थपका लागि ठेकेदार कम्पनीका तर्फबाट केदार गिरीले निवेदन दिएका थिए । तर,सडक डिभिजनले म्याद थप्न नसकिने स्पष्ट पारिसकेको छ । म्याद थप गर्ने आधार नभएपछि ठेकेदारको निवेदनउपर सुनुवाई गर्न नसकिएको कार्यालयले जनाएको छ । बिर्तामोड—गरामनी सडकको म्याद थप्ने आधार र व्यवस्था नभएकाले म्याद नथपिएको पूर्वाञ्चल सडक डिभिजन कार्यालय दमकका इन्जिनियर अनुप साउदेनले बताए । उनले गत असार २९ गते मन्त्रिपरिषदले गरेको ६ महिना म्याद थपको निर्णय त्यस योजनामा लागू नहुने स्पष्ट पारे । लकडाउनको अबधिभित्र संझौता भएका र काम सम्पन्न हुन बाँकी रहेका योजनालाई ६ महिना म्याद थप गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो । नेपालमा लकडाउन चैत ११ देखि साउन ६ गतेसम्म कायम रहेको थियो । तर, बिर्तामोड—गरामनी सडकको म्याद साउन २८ गतेसम्म रहेको थियो । लकडाउनले काम प्रभावित भएपनि लकडाउनपछि सम्म म्याद रहेकाले म्याद थप गर्ने व्यवस्था नरहेको इन्जिनियर साउदेनले स्पष्ट पारे । ‘उहाँको लकडाउन अवधिभन्दा बाहिर म्याद थियो ’ उनले भने ,‘ त्यही भएर उहाँको फाइल उठाउन सकेनौं ।’ यसअघि पनि सो सडकका लागि म्याद थप भएको थियो । आशिष प्रेरा जेभी कम्पनीले २०७५ असार २४ गते ठेक्का पाएको थियो । ठेक्काअनुसार २०७६ पुष २४ सम्म काम सम्पन्न गर्नुपर्ने संझौता थियो । त्यस अवधिमा राम्ररी काम नै शुरु नगरेका ठेकेदारले २०७७ साउन २८ गतेसम्म म्याद थप गर्न लगाएका थिए । थपिएको ७ महिनाको अवधिमा पनि काम पूरा गर्न नसकेका ठेकेदारले फेरि म्याद थपका लागि माग गरेका हुन् । मन्त्रिपरिषदले गरेको निर्णयभित्र नपरेका अन्य धेरै योजनाका म्याद थपका फाइलहरु सडक विभागमा अड्किएका छन् । त्यसउपर गृहकार्य भइरहेको इन्जिनियर साउदेनले बताए । त्यस विषयमा निर्माण व्यवसायी महासंघले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराइसकेको छ । लकडाउनका कारण प्रभावित अन्य योजनाले म्याद थपको सुविधा पाइरहँदा आफूहरुले पनि पाउनु पर्ने सरकारको निर्णयमा नपरेका निर्माण व्यवसायीहरुको माग रहेको छ । मन्त्रिपरिषदको विगतको निर्णयलाई नाघेर जाने वा एक वर्ष म्याद थप्ने अर्को निर्णय गर्ने विषयमा विभागमा छलफल भइरहेको जनाइएको छ । म्याद थप नभएपछि ठेकेदारले दशैं अघिदेख नै काम रोकेका छन् । जसका कारण निर्माणाधिन सडक अलपत्र परेको छ । म्याद थप नगरिदिएको सडक विभागले भुक्तानी पनि रोकेको र जसका कारण निर्माण कार्य बन्द गर्नु परेको ठेकेदार गिरीले बताए । ‘म्याद थप गरेर दशैंअघि केही भुक्तानी दिएको भए सजिलो गरी काम अगाडि बढाउन सकिन्थ्यो’ उनले प्रश्न गरे,‘ यसरी कसरी काम गर्नु ?’ उनले भुक्तानी नहुँदा दशैंअघि नै काम बन्द गर्नु परेको बताए । म्याद थप्ने गृहकार्य भइरहेकाले निर्माण कार्य जारी राख्न आफूहरुले भनेको इन्जिनियर साउदेनले बताए । डिभाइडर र ढलको काम सम्पन्न हुन बाँकी रहेको त्यस सडकमा कालोपत्रेका लागि बेस हाल्ने काम अझ निकै बाँकी रहेको छ । ठेकेदारले काम छोडेपछि धुलो उड्ने त्यस सडकमा यात्रुहरुलाई आवतजावतमा समस्या भएको छ ।
ठेक्का लागेको ४ किलोमिटर सडकखण्डको कतिपय ठाउँमा अझै ढल बनिसकेको छैन । बिर्ताबजारको दुर्गा मन्दिर , एक किलोमिटर , विद्युत प्राधिकरण, बिर्तामोडको मुक्ति चौकलगायतका स्थानमा ढल निर्माण भइसकेको छैन । त्यस्तै डिभाइडर निर्माणको काम पनि बाँकी नै छ । त्यसबाट अझै समय लाग्ने देखिन्छ ।समयमा काम पूरा नहुँदा सदरमुकाम जाने सो सडकमा वर्षौदेखि यात्रुहरुले कष्ट झेल्नु परिरहेको छ । वर्षौदेखि अलपत्र पर्दा सडक पूर्णरुपमा निर्माण सम्पन्न हुने कुरामा अझै आशंका गर्छन् सर्वसाधारण । बिर्तामोडको मुक्ति चौकदेखि गरामनी बजारछेउसम्मको ४ किलोमिटर सडकखण्ड चार लेनको निर्माण गर्नका लागि आशिष प्रेरा जेभी कम्पनीले करसहित २७ करोड ९ लाख ७० हजार रुपैयाँमा ठेक्का पाएको थियो । त्यसमध्ये करीव आधा रकम भुक्तानी हुन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्