झापा , कात्तिक १६ । पाँचथरको पूर्वाधार र पर्यटनको क्षेत्रमा ठूलो योगदान दिएका भूगोलविद् खगेन्द्र जवेगुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पाँचथरको फालेलुङ १ खुंगामा जन्मेर हाल काठमाडौंमा बस्दै आएका जवेगुको ६९ वर्षको उमेरमा गएराति नर्भिक हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । उनले पाँचथरको विकासमा महत्वपूर्ण योगदान दिएका थिए । सफल योजनाकार मानिएका जवेगुले बाटोघाटो र सडक लगायतका विभिन्न योजना निर्माण गरेका थिए । मेची राजमार्गको जोरपोखरी सडकको योजना बनाएका जवेगुले जैविक विविधताको लागि योजना पनि ल्याएका थिए । त्यस्तै फिदिमलाई हरियाली बनाउने दीर्घकालनि योजना पनि उनैले अगाडि सारेका थिए । उनले इसिमोड , नेदरल्याण्ड विकास नियोग , इन्फ्रिन जस्ता अन्तर्राष्ट्रिय संस्थामा रहेर काम गरेका थिए । पाँचथर सेवा समाजका अध्यक्ष रहेका जवेगु किरात याक्थङ चुम्लुङ ,जवेगु समाजलगायतका सामाजिक संस्थामा पनि आवद्ध रहेका थिए् । बौद्धिक ब्यक्तित्व एवं स्पष्ट वक्ता जवेगुले क्यानडाबाट सर्भेसम्बन्धी तालिम लिएका थिए । बौद्धिक एवं सामाजिक व्यक्तित्व जबेगुसित लामो समय सहकार्य गरेका पाँचथरका अग्रज पत्रकार एवं साहित्यकार प्रेम ओझाले उनको निधनप्रति दुख ब्यक्त गरेका छन् । कोरोना महामारीका कारण पाँचथरले एक होनहार, बौद्धिक एवं सामाजिक व्यक्तित्व गुमाउन पुगेको उनले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्