भद्रपुर , कात्तिक १६ । रुद्र–गौरी, श्री–अम्बिकाओली प्रतिष्ठान झापाले देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार गायक प्रितम आचार्यलाई प्रदान गर्ने भएको छ ।

इटहरीस्थित विश्व–आदर्श एकेडेमीमा कक्षा ७ मा अध्ययनरत झापाका ११ वर्षिय प्रितम आचार्यलाई आफ्नो गायनको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा सांगीतिक ख्याति कमाई राष्ट्रको श्रीवृद्धिमा योगदान पुर्याएवापत एकाउन्नजार एक सय एघार रुपैंयाँ राशिको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले निर्णय गरेको हो । पाँच बर्षको कलिलो उमेरदेखि गुनगुनाउन थालेका प्रितमको पहिलो औपचारिक सांगीतिक यात्रा तीनजुरे, एरिना टेलिभिजनद्वारा आयोजित स्कुल आइडल गीत प्रतियोगितामा ६ वर्षको उमेरबाट आरम्भ भएको थियोे । आठ वर्षको हुँदा कान्तिपुर टेलिभिजनद्वारा प्रसारित पतन्जली सुरशाला आइडलमा उनले दोस्रो स्थान प्राप्त गरेका थिए । १० वर्षको उमेरमा भारतको जिटिभीद्वारा अन्तर्राष्ट्रियस्तरको सारेगम लिटल च्याम्प्स–२०१९ मा सहभागिता जनाएर प्रितमले आफ्नो सांगीतिक ख्याति अन्तर्राष्ट्रिय जगतमा समेत विस्तार गरेका छन् । प्रतियोगितामा उनले तेस्रो स्थान हासिल गरेका थिए । जिटिभीसँगको करार अनुसार सांगीतिक प्रस्तुतिका लागि उनले विश्वका विभिन्न मुलुकहरुमा (हङ्गकङ्गदेखि दक्षिण अफ्रिकासम्म) आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । यसरी नै दर्जनौ गीति एल्बमहरुमा आफ्नो सुमधुर स्वर दिईसकेका उनले आफ्नै म्युजिक भिडियोमा समेत मोडलिङ्ग गर्दै आएका छन् । डा.भगवान कोइरालासमेतको संलग्नतामा बालबालिकाको लागि सातैवटा प्रदेशमा स्थापना गर्न लागिएको मुनाफारहित अस्पतालको लागि सद्भावना दुतको रुपमा नियुक्त भई बालबालिकाको हित प्रवद्र्धनमा समेत उनी सक्रिय रहदै आएका छन् । २०७७ वैशाख पहिलो हप्ताभित्र गर्ने भनिएको यो सम्मान तथा पुरस्कार वितरण कार्यक्रम कोभिड १९ का कारण प्रतिष्ठानले सन् २०२० को लागि तय गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए ।