झापा , कात्तिक १६ । झापामा आइतबार फेरि चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिकाका दुई , कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक–एक गरी चारैजना पुरुष हुन् । दमक ७ का ४९ बर्षिय वस्ती थरका पुरुषको नोबेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शनिबार मात्रै नोबेल हस्पिटल पुर्याइएका ती ब्यक्तिको कोरोना परिक्षणको रिपोर्ट शनिबार नै पोजिटिभ आएको थियो । उपचारका क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो । त्यस्तै दमकमा आइतबार नैे अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं २ का दंगाल थरका ६७ वर्षिय बृद्ध रहेका छन् । उनको आइतबार दिउँसो नोवेल हस्पिटल विराटनगरमै मृत्यु भएको हो । उनलाई कात्तिक १० गते उपचारका लागि विराटनगर लगिएको थियो । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या १७ पुगेको छ ।
दशैं शुरु भएयता मात्रै दमकका कोरोना संक्रमित ८जनाको मृत्यु भएको तथ्याङक छ । त्यस्तै कमल गाउँपालिका वडा नं ५ मंगलबारेका ७२ वर्षका खरेल थरका एक बृद्धको घरमै मृत्यु भएको छ । मिर्गौलाका विरामी ती बृद्धको विराट मेडिकल कलेज हस्पिटल विराटनगरमा संक्रमण पुष्टि भएको थियो । उनी होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३ पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् । त्यस्तै गौरादह वडा नं ४ मिलन चोकका ७४ वर्षिय कृष्णबहादुर निरौलाको शनिबार राति ९ बजे मृत्यु भएको हो । उनलाई कात्तिक १३ गते संक्रमण पुष्टि भएको थियो । उनको घरैमा मृत्यु भएको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ । शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४६ पुगेको छ ।