बिष्णु सुब्बा,
दमक,कार्तिक १७ । दमकमा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले त्यसबाट हुनसक्ने थप जोखिम नियन्त्रण गर्न तत्काल बन्दाबन्दी गर्नु पर्ने स्थानीयले माग गरेका छन् । पछिल्लो समय जिल्लाकै उच्च जोखिम वन्दै गएको दमकमा संक्रमणबाट थप जोखिम हुन नदिन कडाईका साथ बन्दाबन्दी गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

सामाजिक सञ्जालहरुमा स्टाटस लेख्दै दमकका सामाजिक तथा व्यावसायिक क्षेत्रका अगुवाहरुले पछिल्लो संक्रमणसंगै मानिसको मृत्यु दर ह्वात्तै बढ्दै गएकाले त्यसबाट हुन सक्ने थप जोखिम नियन्त्रण गर्न स्थानीय सरकारले बन्दाबन्दी गर्नुपर्ने औल्याएका छन् ।
मेची मदिरा व्यवसायी संघ माईपश्चिम दमकका अध्यक्ष प्रेम पाण्डे दमक कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले त्यसवाट थप जोखिम हुन नदिन कम्तीमा एक महिना लकडाउन गर्नु पर्ने सुझाव दिन्छन् । लकडाउनले संक्रमण फैलिन रोक्ने भन्दै सरकारले यदि जनतालाई अकालमै मर्न नदिने हो भने संक्रमण नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने उनी बताउँछन् ।
उद्योगी समेत रहेका राष्ट्रिय युवा संघ नेपालका एक नम्बर प्रदेश कमिटी सदस्य राजकुमार थापाले आफ्नो फेसबुक वालमा धारणा राख्दै तत्कालका लागि दमकमा लकडाउनको विकल्प नरहेको भन्दै सरोकारवालाहरुबीच छलफलको आवश्यकता औंल्याएका छन् । दमक उद्योग वाणिज्य संघका सदस्य समेत रहेका थापाले दमकमा कोरोना संक्रमण यस्तै रहे भयावह बन्न सक्ने भन्दै लकडाउन गर्न ढिलाइ गर्न नहुने बताए ।
संघका दमक नगर अध्यक्ष राम पौडेलले पनि फेसबुक वालमा आफ्नो धारणा राख्दै अब लकडाउन गरेर भएपनि सुरक्षित बस्नुपर्ने सुझाएका छन् । उनले भने,‘ दमकमा लकडाउनका लागि उद्योगी व्यवसायीहरु सकारात्मक हुनुपर्छ ।’
दमक उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष रामचन्द्र बरालले पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै दमकमा लकडाउनको आवश्यकता औंल्याउदै आंशिक किसिमको समय र यो वा त्यो क्षेत्र तोकेर गरिने बन्दाबन्दीको औचित्य नरहने तर पूर्णरुपमा बन्द गरेर भने केही हदसम्म सुरक्षित हुने बताए ।
भर्खरै संक्रमणबाट निको हुँदै गएका दमकका पत्रकार लोकनाथ रिजालले पनि सञ्जालमार्फत स्थानीय सरकारलाई पिसिआरको दायरा बढाउनसंगै लकडाउन गर्न सुझाव दिएका छन् ।सबै नागरिकले आफूलाई पोजेटिभ सम्झिएर सेल्फ आईसोलेट हुनुको विकल्प नभएको भन्दै उनी यसलाई खेलाची नठान्न आग्रह गर्छन् । तर यहाँ भने स्थानीय सरकारले संक्रमितको उपचार गर्न पहल नगरेको बताउँछन् ।
दैनिक नागरिकहरुको मृत्यु हुँदा पनि स्थानीय सरकारले दुई महिना अघि नै बनाउने भनेको कोभिड अस्पताल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । संघीय सरकारले कोरोना परीक्षणको निशुल्क नगर्ने घोषणा गरेसंगै नगरपालिकाले गर्दै आएको स्वाब संकलन पनि अहिले बन्द गरिएको छ ।
स्रोत र संरचनाको हिसाबमा दमकभन्दा कमजोर स्थानीय तहहरुले आईसोलेसन केन्द्रसहित अस्थायी कोभिड अस्पताल सञ्चालन गरिसक्दा प्रधानमन्त्रीको गृहनगर समेत रहेको दमकमा भने अहिलेसम्म आईसोलेसन केन्द्र समेत सञ्चालन हुन नसक्नु दुखद भएको नेपाली कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बताए । उनले कोही नागरिक खान नपाएर र उपचार नपाएर मर्नु नपर्ने भाषण गर्ने प्रधानमन्त्रीकै गृहनगरमा नागरिक उपचार नपाई मरिरहँदा सर्वहाराको नेतृत्व गर्छु भन्नेहरु नागरिकको स्वास्थ्यप्रति जिम्मेवार नभएको आरोप लगाए ।
दमकको अवस्था भयावह बन्दै जाँदा समेत स्थानीय सरकारले अन्य राजनैतिक दलहरुसंग समेत कुनै छलफल नगरेको जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङले बताए । दैनिक नागरिकहरुको मृत्यु भईरहेको समाचार सुन्दा दुख लागेपनि स्थानीय सरकारले यस बिषयमा कुनै छलफल नगरेको उनले जनाए ।
दमकमा पुनः लकडाउन गर्ने तयारी
दमक नगरपालिकाले दमकमा पुनः लकडाउन गर्ने तयारी गरेको छ । त्यसका लागि नगरपालिकाले राजनीतिक दल, नागरिक समाज, व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने भएको छ । दमक नगर प्रमुख रोमनाथ ओलीले संक्रमणको दर दैनिक बढेसँगै सतर्कता अपनाउन आवश्यक रहेको बताए । दमकको एक टेलिभिजनसँग कुरा गर्दै उनले जिल्ला समन्वय समितिसँग समन्वय गरेर थप रणनीति अपनाईने बताए । ‘यद्यपि जिल्लाभरिको अवस्था हेरेर जिल्ला समन्वय समितिले केही निर्णय गर्न सक्छ’ उनले भने, –‘दमकको हकमा हामीले जिल्ला पर्खने छैनौ, लकडाउन गर्ने –नगर्ने निर्णय गछौँ ।’
प्रमुख ओलीले कोभिड १९ को सचेतना जगाउनका लागि शिक्षकसहित स्वास्थ्यकर्र्मी परिचालन गर्ने बिषयमा समेत छलफल भईरहेको बताए । उनले उच्चतम सावधानी अपनाउन आग्रह गरेका छन् । ओलीका अनुसार नगरपालिकाले सबैको परामर्शमा पुनः लकडाउन गर्ने तयारी गरेको छ । ‘सबैले दुई सातासम्म बन्द गरौँ भन्ने सुझाव दिएका छन्’ उनले भने,‘ हामी तत्कालै निर्णयमा पुग्ने छौ ।’
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार मंगलबार राजनीतिक दलसँग कोरोना रोकथाम नियन्त्रणका बिषयमा अन्तरक्रिया गरिने छ । दमकमा अहिलेसम्म ४१९ संक्रमित भएका छन् भने आइतबार मात्रै ५ जनाले ज्यान गुमाएका छन् । संक्रमणवाट दमकमा सोमबारसम्म १९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्