झापा , कात्तिक १८ । भुपू ब्रिटिश गोर्खा सैनिकहरुको हक अधिकारको लागि भएको आन्दोलनका प्रमुख योद्धा एवं सामाजिक, राजनीतिक अभियन्ता गजेन्द्र इस्वोको कोरोनाबाट मृत्यु भएको छ ।

इस्वोको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज बिहान मृत्यु भएको हो । इस्वो केही बर्षदेखि छालाको क्यान्सरको उपचार गराइरहेका थिए । सुगरको पनि विरामी रहेका इस्वोलाई पछिल्लो समय कोरोना संक्रमण पनि भएको थियो । स्वर्गीय इस्वोलाई भुपू गोर्खा सैनिकहरुको आन्दोलनको प्रमुख योद्धा हुन् । ब्रुनाईमा हकअधिकारको आन्दोलन गर्दा ११ जनालाई जागिरबाट हटाइएको थियो । ती मध्येमा इस्वो पनि थिए । ब्रुनाईबाट आउदा उनलाई मण्डेला भन्ने गरेको स्मरण गर्छन्, भूपू गोर्खा सैनिक रमेश राई । नेपालमा भएको भुपू गोर्खा सैनिकहरुको आन्दोलनलाई लामो समय गेसो सुनसरीको नेतृत्वमा रहेर इस्वोले हाँकेका थिए । धरानको विकास निर्माणमा लाहुरेहरुलाई सहभागिता गराउन पनि उनको महत्वपूर्ण योगदान रहेको छ । उनी आदिबासी जनजातिहरुको राजनैतिक अधिकारको लागि पनि लड्ने अभियन्ता थिए । पछिल्लो समय जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय प्रदेश समितिको उपाध्यक्ष रहेका थिए भने गएको धरानको मेयरको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरको उम्मेदवार पनि भएका थिए । इस्वोले भुपु सैनिकहरुको गेसो, सहकारी, गोर्खा कम्प्लेक्स, गोर्खा पार्कको स्थापना र सञ्चालनको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्