दमक, कात्तिक १९ । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले आफ्ना मृत्यु भएका शेयर सदस्यको ४ लाख भन्दाबढी कर्जा मिनाहा गरेको छ ।

सहकारीको दमक सेवा केन्द्रअन्तर्गत सदस्य रहेका दमक ३ ढुकुरपानी निवासी दिलिपकुमार कार्कीको मृत्यु भएको १० औं दिनको पुण्यतिथिमा सहकारीको एक टोलीले आज घरमै पुगेर कर्जा रकम मिनाहा गरी किरिया खर्चबापतको रकम उपलब्ध गराएको हो । सहकारीका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलको नेतृत्वमा गएको सहकारीको टोलीले कार्कीले सहकारीबाट कर्जा लिएर तिर्न बाँकी साँवा ब्याजसहित ४ लाख ४४ हजार ६० रुपैयाँ मिनाहा गरेको दमक सेवा केन्द्रका व्यवस्थापक सुजन भण्डारीले जानकारी दिए ।
सहकारीका शेयर सदस्यको निधन भएमा लिएको कर्जा रकम मिनाहा गर्ने संस्थाको नियम अनुसार सो रकम मिनाहा गरिएको सहकारीका कर्जा बिभाग प्रमुख मनहरि निरौलाले जानकारी दिए । त्यसैगरी कार्कीको किरिया खर्चवापत ५ हजार रुपैयाँ समेत सहकारीका तर्फबाट उपलब्ध गराईएको थियो ।
सो अवसरमा सहकारीका कोषाध्यक्ष एकराज विष्ट, दमक सेवा केन्द्र सञ्चालन समिति सदस्यहरु गिरिराज भट्टराई, मुकुन्द उप्रेती, मोहन शिवाकोटीसहित सहकारीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्