झापा, कात्तिक २१ । लामो पर्खाइपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीको परीक्षा गराउने भएको छ । कोभिड– १९ को कारणले चैतमा रद्द भएका परीक्षाहरु हुन लागेका हुन् । कोरोना महामारीबीच काठमाडौं विश्वविद्यालय (केयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले अनलाइनबाट परीक्षा लिइसकेका छन् । तर ८ लाख विद्यार्थी भएको त्रिविले पुरानै शैलीमा परीक्षा लिन लागेको हो ।


त्रिविमा हुन लागेका परीक्षाबारे जानकारी दिँदै परीक्षा नियन्त्रक पुष्पराज जोशीले नेपाल सरकारले नै परीक्षा लेऊ भनेपछि हामीले लिन लागेको भन्दै उनले स्नातक चौथो वर्षको परीक्षाको कार्यतालिका निकालेको जानकारी दिए । मंसिरको दोस्रो साताबाट सुरु हुने परीक्षा वैशाखसम्म सम्पूर्ण विषय तथा स्नातक र स्नातकोत्तर र वार्षिक तथा सेमेस्टर प्रणाली सबै सकाउने प्रयत्न रहेको उनले बताए ।

विगतमा एउटा परीक्षा गराउन ९० देखि सय सेन्टर भए पुग्नेमा यसपटक दोब्बर नै परीक्षा सेन्टर रहने नियन्त्रक जोशीले जानकारी दिए । भन्छन्, ‘भौतिक दूरी कायम गराएर परीक्षा लिँदै छौं । स्वास्थ्यको मापदण्ड हेरेर गर्दा सेन्टरको संख्या थप्न पर्छ ।’ यस्तै, कोरोना संक्रमित विद्यार्थी परीक्षा दिन आउने हो भने त्यस्ता विद्यार्थीलाई सबै विद्यार्थी आइसकेको १५ मिनेटपछि मात्र परीक्षा केन्द्रमा जान दिने उनले बताए । सो संक्रमित विद्यार्थीलाई प्रश्नपत्र दिँदा शिक्षकलाई पनि फेस सिल्ड, स्यानिटाइजरलगायत समग्रीसहित खटाउने उनले बताए । कोरोना संक्रमित विद्यार्थीले पछि परीक्षा दिन्छुभन्दा पनि दिन मिल्ने व्यवस्था गर्न सकिने उनले जानकारी दिए ।


केयू र पीयूका हजारौँ विद्यार्थी संख्याको दाँजोमा त्रिविमा लाखौं हुने भएकाले अनलाइन या अन्य प्रणालीबाट परीक्षा गराउन नसकिने जोशी बताउँछन् । त्रिवि प्राज्ञिक परिषद्को असोज २७ को बैठकले चौथाँे वर्षका नियमित तथा आंशिक तथा परीक्षार्थीहरुका लागि यसपटक मात्र आफू बसिरहेको जिल्लामा पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन सक्ने सुविधा दिएको छ । जोशी भन्छन्, ‘काठमाडौंमा पढिरहेका तथा जिल्लामा बसिरहेका विद्यार्थी कोही परीक्षा दिनबाट नछुटुन् भनेर यस्तो निर्णय गरेको हो । काठमाडौं आउँदा क्वारेन्टिन बस्नुपर्ने, भनेका बेला कोठा पाउन नसक्ने हुँदा यही ठीक हो ।’ बल्खुस्थित परीक्षा नियन्त्रक कार्यालय अनुसार देशभर मनाङबाहेक ७६ वटा ठाउँमा परीक्षा केन्द्र उपलब्ध छन् । ‘आर्थिक दायित्व बढेको छ । अर्को वर्ष परीक्षा गर्ने शैली परिवर्तन हुनसक्छ । पूरै ३ घण्टा परिक्षा हुन्छ, शनिबार र बिदाका दिन पनि परिक्षा गर्छौं,’ उनले भने ।


व्यवस्थापन संकायमा मात्रै त्रिविमा २८ वटा प्रोग्राम छन् । मंसिरको तेस्रो साताबाट व्यवस्थापन संकायका परीक्षा हुन लागेको प्रा.डा. सहायक डिन ध्रुवकुमार गौतमले जानकारी दिए । उनले चैतमा लकडाउनअगावै केही विषयका परीक्षा भइरहेको स्मरण गर्दै अधुरो छाडिएका परीक्षा पहिला सक्ने उनले बताए । उनी भन्छन्, तिहारअघि रुटिन निकाल्छौं । वर्ष ग्याप नहोस् भनेर महत्त्वपूर्ण ‘परीक्षाहरु पहिले सकाउँछौँ ।’ उनले जिल्लामा बसेका विद्यार्थीले पायकपर्ने ठाउँमा परीक्षा दिन सकिने विषयमा पनि छलफल चलिरहेको तर निर्णय हुन बाँकी रहेको बताए ।


कक्षा १२ को परीक्षा आफ्नै विद्यालयमा हुने

लामो समय रोकिएको कक्षा १२ को परीक्षा ४० प्राप्तांकको मात्र हुने भएको छ । परीक्षा आफ्नै विद्यालयमा हुने र परीक्षा अवधि डेढ घण्टा बनाइएको प्रवक्ता दीपक शर्माले बताए । यस्तै उनले भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षा गरिने बताए । मंसिर ९ गतेबाट १२ को परीक्षा हुन लागेको हो । परीक्षा आफूलाई पायक पर्ने ठाउँबाट दिन पाउने सुविधा दिएको बताउँदै उनले त्यस्ता विद्यार्थीको संख्या ट्रेस गरिरहेको बताए । उनी भन्छन्, ‘क्याम्पसलाई जानकारी गराएर त्यस्ता विद्यार्थीको जानकारी लिएर विवरण राखेका छौँ । कोरोना संक्रमितलाई पछि परीक्षा दिने व्यवस्था गर्दैछौँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्