झापा , कात्तिक २१ । झापाका ६६ जना जनप्रतिनिधि र कर्मचारी कोरोना संक्रमित भएपछि जिल्लाका स्थानीय तहको कामकाज प्रभावित भएको छ ।

जिल्लाका १५ वटा स्थानीय तहका १८ जना जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ती स्थानीय तहमा काम गर्ने २६ स्वास्थ्यकर्मी र ३३ कर्मचारीलाई संक्रमण भएको तथ्यांकले देखाएको छ । जिल्लाका दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली , मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई संक्रमण पुष्टि भएको हो । त्यस्तै १० जना वडाध्यक्ष र ५ जना वडा सदस्यलाई संक्रमण देखिएको छ । जिल्लाको दमक नगरपालिकामा सबैभन्दा बढी जनप्रतिनिधि र कर्मचारी संक्रमित भएका छन् भने कमल गाउँपालिका कार्यालयका एकजना पनि जनप्रतिनिधि र कर्मचारीलाई संक्रमण पुष्टि भएको छैन ।
प्रत्येक पालिकाको तथ्यांकलाई हेर्दा दमकमा ५ जनप्रतिनिधि , ५ स्वास्थ्यकर्मी र १० कर्मचारी , बिर्तामोडमा ४ स्वास्थ्यकर्मी र ६ कर्मचारी , मेचीनगरमा २ जनप्रतिनिधि , २ स्वास्थ्यकर्मी र ३ कर्मचारी ,गौरादहमा ४ जनप्रतिनिधि र २ स्वास्थ्यकर्मी , शिवसताक्षीमा ४ स्वास्थ्यकर्मी र १ कर्मचारी , अर्जुनधारामा २ स्वास्थ्यकर्मी र ४ कर्मचारी , कनकाईमा १ जनप्रतिनिधि र ४ कमचारीलाई कोरोना देखिएको छ । त्यस्तै बुद्धशान्तिमा १ जनप्रतिनिधि र १ कर्मचारी , हल्दिबारीमा १ स्वास्थ्यकर्मी र २ कर्मचारी , झापामा १ कर्मचारी , गौरीगञ्जमा २ जनप्रतिनिधि , १ स्वास्थ्यकर्मी र १ कर्मचारी , कचनकवलमा २ स्वास्थ्यकर्मी र १ कर्मचारी र बाह्रदशीमा १ जनप्रतिनिधि रहेका छन् । जनप्रतिनिधि र कर्मचारीहरुलाई संक्रमण देखिएपछि जिल्लाका धेरै पालिकाको कामकाज यतिबेला प्रभावित भएको छ । पालिका प्रमुख नहँुदा दमक , मेचीनगर र बुद्धशान्तिको कार्यभार उप प्रमुख–उपाध्यक्षले चलाइरहेका छन् । कोरोनाकै कारण दमक नगरपालिकाको १ , ३ र १० नं वडा कार्यालय दशैअघिसम्म बन्द गरेको थियो । केही दिनका लागि नगरपालिका कार्यालय पनि बन्द गर्नु परेको स्वास्थ्य शाखाका अधिकृत कुवेर भट्टराईले बताए । त्यस्तै अर्जुनधारा नगरपालिका कार्यालय र वडा कार्यालय पनि बन्द गरिएका थिए । त्यस्तै बिर्तामोड नगरपालिकाको कार्यालय र वडा कार्यालय पनि केही दिनका लागि बन्द गरिएका थिए । कार्यालयका कर्मचारीहरु अस्वस्थ्य बनेपछि केही दिनका लागि गाउँपालिका कार्यालय बन्द गर्न आफूहरुले माग गरेको कचनकवलका प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए । हल्दिबारी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौला संक्रमित बन्दा केही दिन स्वास्थ्य शाखाको काम प्रभावित भएको थियो भने अहिले लेखा अधिकृतलाई संक्रमण पुष्टि हँुदा लेखाको काम रोकिएका छन् । त्यस्तै कमल गाउँपालिका ५ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा काम गर्ने स्वास्थ्यकर्मीको श्रीमानलाई संक्रमण देखिएपछि स्वास्थ्य केन्द्र बन्द गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । त्यसैगरी गौरीगञ्ज गाउँपालिकाका २ नं वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीलाई संक्रमण देखिँदा वडा कार्यालयको कामकाज प्रभावित बनेको थियो । अहिले आलोपालोमा कर्मचारीहरुले गौरीगञ्जमा काम गरिरहेको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्