झापा , कात्तिक २१ । कोरोना संक्रमितलाई समाजले गर्ने विभेद ठूलो समस्याको रुपमा बढ्दै गएको १ नं प्रदेशका सामाजिक कार्यकर्ताहरुले बताएका छन् ।

सामाजिक विभेदीकरणकै कारण दमकमा एक कोरोना संक्रमितले आत्महत्या गरेको हुनसक्ने उनीहरुले आशंका गरेका छन् । कोरोना संक्रमित दमक नगरपालिका वडा नं ५ की २२ वर्षिया दीक्षा लिम्बुले मंगलबार राति होम आइसोलेसनमा बसेका बेला घरैमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । राष्ट्रिय पूर्वतयारी प्रतिकार्य समिति एनडीआरएनटीको आयोजनामा आज बिर्तामोडमा भएको कोभिड १९ प्रतिकार्य सहजीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी प्रदेश तथा झापाका सामाजिक कार्यकर्ताहरुले कोरोना संक्रमितमाथिको विभेदीकरणका बारेमा चिन्ता ब्यक्त गरेका हुन् । क्वारेन्टाइनमा आधारभूत सुविधा समेत नभएको , कोरोना संक्रमितहरुलाई सुरक्षाकर्मीले राम्रो व्यवहार गर्ने नगरेको , संक्रमितलाई घरबाट बाहिर निस्कन नदिएको , संक्रमितका छोराले विद्यालय छोड्नु परेको घटना प्रस्तुत गर्दै उनीहरुले विगत हेरीकन व्यवहारमा केही परिवर्तन भएपनि अझै सकारात्मक भइनसकेको धारणा राखे ।

सुरक्षित आप्रवासन कार्यक्रममा कार्यरत पुजा सेढाईले कोरोना संक्रमितहरुलाई मनोसामाजिक परामर्श आबश्यक भएको बताइन् । उनले संक्रमितलाई गरिने व्यवहारमा परिवर्तन ल्याएर उनीहरुलाई सही काउन्सिलिङ गरिनु पर्ने आबश्यकता औल्याइन् । होम क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नेहरुको अबस्था र उनीहरुको भावना बुझ्ने अबस्था सिर्जना गरिनु पर्नेमा उनले जोड दिइन् । त्यस्तै संक्रमितहरुको लागि काम गर्न खोजिरहँदा जिल्ला स्वास्थ्य कार्यालयले सामाजिक कार्यकर्ताहरुलाई सहयोग र समन्वय गर्न आबश्यक भएको उज्वल भण्डारीले जोड दिए । अर्का सामाजिक कार्यकर्ता एकेन्द्र उप्रेतीले एन्टीजीन टेष्ट ,प्लाज्माथेरापी ,एन्टीबडी पावर , लोकल ट्रान्समिसन र कम्युनिटी ट्रान्समिसन लगायतका विषयमा समुदायलाई बुझाउनु पर्ने भएको भन्दै त्यसबारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहजकर्ताको रुपमा रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले संक्रमितहरु होम आइसोलेसनमा बस्दा मनोटोनसको अबस्थामा पुग्ने भएकाले उनीहरुलाई काउन्सिलिङ र सपोर्टको आबश्यकता भएको बताए । सुरक्षित आप्रवासन कार्यक्रमका सहभागीहरुले दिने गरेको परामर्शले अबश्य पनि संक्रमितहरुलाई फाइदा पुग्ने उनले बिश्वास ब्यक्त गरे । फोकल पर्सन चौलागाईले नोवेल कोरोना भाइरस के हो , यो कसरी सर्छ , संक्रमणको अबस्था, उपचारको विधि , संक्रमण सर्न नदिन अपनाउनु पर्ने उपायलगायतका विषयमा जानकारी दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले मेची प्रादेशिक अस्पताल भद्रपुरमा गंभीर प्रकृतिका संक्रमितहरुको उपचारको व्यवस्था गर्न लागेको जानकारी दिए । ‘ मेचीमा २५–३० जना गंभीर प्रकृतिका संक्रमितहरुको उपचार गर्ने तयारी भइरहेको छ’ उनले भने ,यसबाट विरामीलाई जिल्ला बाहिर लान पर्दैन ।’ पोर्तेलले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग प्रत्येक दिन विशेषज्ञ डाक्टरहरुसँग प्रत्यक्ष कुराकानी गराउने व्यवस्था गर्न लागेको जानकारी दिए । कार्यक्रममा एनडीआरसी , एडीपीसी , एपीपी र विराट सामुदायिक अध्ययन केन्द्रले सहकार्य गरेका थिए । एनडीआरएनटीका केन्द्रीय उपाध्यक्ष रुद्र सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन फणिन्द्र दाहालले गरेका थिए । कार्यक्रममा प्रदेशका र स्थानीय गरी ३२ जना सामाजिक कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्