झापा , कात्तिक २२ । कोरोना संक्रमणबाट लगातार मृत्यु हुने क्रममा झापामा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा २४ घण्टाभित्र तीन महिला र एक बृद्धको मृत्यु भएको हो । शुक्रबार राति निधन भएका बिर्तामोड ४ का एक बृद्धलाई मृत्युपछि संक्रमण पुष्टि भएको छ । बिर्तामोड ४ निवासी ८५ वर्षका श्रीकृष्ण चुडालको शुक्रबार राति ११.४५ बजे आफ्नै घरमा मृत्यु भएको हो । उनको शुक्रबार कनकाईको कोटीहोम ल्यावमा पिसिआर परीक्षण गरिएको थियो । मृत्युपछि उनको शनिबार बिहान आएको रिपोर्टले पोजिटिभ देखाएको छ । त्यस्तै शुक्रबार राति नै बिर्तामोडकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिर्तामोड वडा नं ६ की ४२ वर्षिया सुष्मा रेग्मीको उपचारका क्रममा विराटनगरको नोवेल हस्पिटलमा मृत्यु भएको हो । उनको राति ११ बजे मृत्यु भएको बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले बताए । दुवैको शव नेपाली सेनाले कनकाई माईमा अन्त्येष्टि गरेको छ ।
त्यस्तै शिवसताक्षीकी कोरोना संक्रमित एक युवतीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं ६ की २५ वर्षीया युवतीको विराटनगरस्थित नोबेल हस्पिटलमै शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए । सतासी पोलिक्लिनिकमा ल्याब टेक्निसियनको रुपमा कार्यरत सिर्जना काफ्लेलाई दमकको लाइफलाइन हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ संभव नभएपछि विराटनगर लगिएको जनाइएको छ । त्यसैगरी दमक नगरपालिका वडा नं ८ की ४२ वर्षिया महिलाको उपचारका क्रममा विराटनगरको नोवेल हस्पिटलमा मृत्यु भएको छ । दमक ८ स्थायी ठेगाना भएपनि ती महिला मोरङको भाउन्नेमा बस्दै आएकी थिइन् । मृतक महिलाको मोरङमै अन्त्येष्टि गरिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकमा २२ र झापामा ६२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्