झापा , कात्तिक २३ । तिहार आउनै लाग्दा बाह्रदशी ६ कुमाल बस्तीका केटाकेटीदेखि लिएर बृद्धबद्धासम्म यतिबेला पाला बनाउन व्यस्त छन् ।

तिहारमा दियो बाल्न पालाको अत्यधिक माग हुने भएकाले बिक्रीका लागि कुमालहरुलाई पाला बनाउन भ्याइनभ्याइ भएको हो । माटोको पाला बनाउने , सुकाउने , रंग्याउने र पोल्ने काममा कुमालहरु सपरिवार खटिएका छन् । स्थानीय प्रदीप पण्डित विगत १५–२० दिनदेखि लगातार चक्रमा पाला बनाउन लागिरहेका छन् । मोटर जडान गरिएको चक्रमा उनी निरन्तर पाला बनाउँदैछन् । दिनभरि उनी २ हजारजति पाला बनाउँछन् । ती काँचो पालालाई उनकी आमा उर्मिलादेवी पण्डितले घाममा सुकाउने काम गरिरहेकी छिन् । सुकिसकेपछि त्यसलाई रंग्याउने पनि उनैले गरिरहेकी छिन् । रंग लगाइसकेपछि आगोको भट्टीमा पोल्ने काम भने उर्मिलाका श्रीमान् धनिश्वर पण्डितले गरिरहेका छन् । ५ जनाको उनीहरुको परिवारमा बृद्ध बुवाबाहेक सबैजना माटोको भाडा बनाउन जुटिरहेका छन् ।

छिमेककै १२ वर्षिया दुर्गा पण्डित पनि पाला सुकाउन व्यस्त छिन् । उनलाई १२ वर्षकै सुरज पण्डितले सघाइरहेका छन् । त्यस्तै घरछेउकै १४ वर्षिया विमला पण्डितलाई पनि माटोको भाडा रंग्याउन फुर्सद छैन । उनी साथीभाइलाई साथ लिएर घडामा रंग लगाइरहेकी छे । तिहारमा बिक्री गर्नका पाला लगायतका माटाको भाडा तयार गर्न बाह्रदशी कुमाल बस्तीका कुमालहरु यतिबेला रातदिन नभनी लागिरहेका छन् । उनीहरुले बनाएको भाडा बाटोभरि विस्कुन सुकाएजसरी सुकाइएको छ । अरुबेला गमला , धुपौरो , खुत्रुके , नानीपैनी , घैला जस्ता माटोका भाडा बनाउँदै आएका कुमालहरु यतिबेला पाला र घडा बनाउन बढी लागेका छन् । तिहारमा दियो बाल्न पाला र पुजा गर्न घडा आबश्यक हुन्छ । ‘यतिबेला सिजन हो’ धनिश्वर पण्डितले भने ,‘माग अनुसार पु¥याउन सकिएको छैन ।’ उनीहरुले बनाएको माटोको भाडा बिर्तामोड , दमक , केर्खा , धुलाबारी ,बुधबारेलगायतका बजारमा बिक्री हुने गरेको छ ।

कुमालहरुले एकमुखे , चारमुखे र पाँचमुखे गरी तीन किसिमका पाला बनाउने गरेका छन् । एकमुखे पालालाई व्यापारीहरुले घरैबाट एक रुपैयाँ प्रतिगोटा किनेर लैजाने गरेको धनिश्वरले बताए । ‘बजारमा गएर बेच्यो भने दुई अढाई रुपैयाँ प्रतिगोटा बिक्री हुन्छ’ उनले भने । बाह्रदशी ६ मा करीव ४५ घरधुरी कुमालहरु रहेका छन् । त्यसमध्ये ८० प्रतिशतको मुख्य पेशा माटाको भाडा बनाउने हो । तर, यो सिजनमा बस्तीका सबै कुमाल परिवारले बिक्री गर्नका लागि माटाको भाडा बनाइरहेका छन् ।

घाग्रा खोलाको छेउमा रहेको कुमाल बस्तीका कुमालहरुले पुस्तौदेखि माटाको भाडा बनाउने पुख्र्यौली पेशा गर्दै आएका छन् । ‘माटाको भाडा बिक्री गर्दा राम्रै आम्दानी भइरहेको छ ’ धनिश्वरले भने ,‘परिवारको गुजारा चलाउनलाई समस्या छैन ।’ उनले माटोको काम गरेर माटाको भन्दा राम्रो घर जोड्न नसकेको वास्तविकता सुनाए । विगतमा जस्तो माटाको भाडा बनाउने पेशा सहज नभएको उनीहरुको भनाइ छ ।

उनीहरुका अनुसार भाडा बनाउन माटो र बनाएको भाडा पोल्न दाउराको समस्या भएको छ । ‘ १० हजार रुपैयाँ टिपर माटो किन्नु परेको प्रदीपले बताए । त्यस्तै पैसा हुँदा पनि दाउरा किन्न नपाएको उनले समस्या सुनाए । विगतको तुलनामा कुमालहरुले पुख्र्यौली पेशा छोड्दै गएको बाह्रदशी ६ का वडाध्यक्ष रत्नप्रकाश योङहाङ बताउँछन् । वैदेशिक रोजगारलगायतका अन्य पेशाप्रति केही कुमालहरु लागेको योङहाङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्