झापा , कात्तिक २३ । झापामा कोरोना संक्रमणबाट आज एकैदिन ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । अर्जुनधारा , भद्रपुर र दमक नगरपालिकाका एक–एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसक्रममा पूर्व गाविस सचिव एवं भद्रपुर जेसिजका पूर्व अध्यक्ष कुमुदचन्द्र झाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भद्रपुर ५ निवासी ६३ वर्षिय झाको आफ्नै घरमा बिहान ४.१५ बजे मृत्यु भएको हो । उनले कात्तिक २१ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा गरेको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । झाको मृत्यु भएपछि उनको रिपोर्ट आज बिहान अस्पतालबाट मगाएको श्रेष्ठले बताए । झा भद्रपुर जेसीजका सन् १९९६ का अध्यक्ष एवम् नेपाल जेसिज का पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए । उनले लामो समय गाविस सचिव भएर काम गरेका थिए ।त्यस्तै अर्जुनधारामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका वडा नं ६ की ८१ वर्षिया खरेल थरकी बृद्धा रहेकी छन् । उनको आज विहान ६.३० बजे घरमै मृत्यु भएको वडाध्यक्ष लोकनाथ गौतमले बताए । हिजो विराट मेडिकल कलेज विराटनगरमा गरेको पिसिआर परीक्षणमा उनलाई पोजेटिभ देखिएको थियो । त्यस्तै आज दिउँसो दमकका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ६ का ८३ वर्षिय थपलिया थरका बृद्ध रहेका छन् । उनको दिउँसो २ बजे विराटनगरको म्याक्स हस्पिटलमा मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । ती बृद्धलाई कात्तिक ८ गते उपचारका लागि विराटनगर लगिएको थियो । त्यसको दुईदिन अघि उनलाई संक्रमण पुष्टि भएको भट्टराईले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या दमकमा २३ र जिल्लामा ६४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्