दमक,कार्तिक २३ । दमक २ स्थित बेलडाँगीमा आइतबारदेखि कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरिएको कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ ।

लामो समयको तयारीपछि दमक २ स्थित भुटानी शरणार्थीहरुको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाईको कार्यालय भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।
सो उपचार केन्द्रको आइतबार प्रदेशसभा सदस्य अर्जुन राईले औपचारिक रुपमा उद्घाटन गरे । उद्घाटन गर्दै उनले विश्वभर फैलिएको कोरोना महामारीसंग जुध्न सबै शक्ति एक ठाउँमा उभिने बेला आएको बताए ।
अक्सिजनसहितको ३० बेडको सो उपचार केन्द्रमा ४ बेड एचडियु रहने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । यस क्षेत्रका संक्रमितहरुको उपचारका लागि सो केन्द्रले सहयोग पुर्याउने उनले बताइन् ।
संघीय सरकारले सबै स्थानीय तहलाई विभिन्न मापदण्डसहित आ–आफना पालिकाका कोरोना संक्रमितहरुको उपचारका लागि कोभिड अस्पताल सञ्चालन गर्न करिब दुई महिना अघि नै सर्कुलर गरेको थियो । धेरैजसो स्थानीय तहले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याए पनि यसअघि दमकमा कोभिड अस्पताल स्थापनामा ढिलाइ भएको स्थानीयले गुनासो गर्दै आएका थिए ।
नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले नगरपालिकाले कोरोना लक्षण देखिएकाहरुको स्वाव संकलन गरी निशुल्क पिसिआर परीक्षण गर्ने क्रमलाई निरन्तरता दिइरहेको जानकारी दिए । उनका अनुसार नगरपालिकाले सातामा दुई दिन करिब ३०० जनाको स्वाव संकलन गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्