दमक,कार्तिक २४ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा मदन भण्डारी फाउण्डेशन गठन गरिएको छ ।

केही दिनयता पार्टी नेतृत्वबीच आन्तरिक मतभेद चल्दै गर्दा ओली निकट कार्यकर्ताहरुले दमकमा फाउण्डेशन व्यूँताएका हुन् ।
पार्टीले आफ्ना नेताका नाममा खोलिएका संघसंगठनहरुले गुटबन्दी सृजना गरी पार्टी कमजोर वनाएको भन्दै त्यस्ता गतिविधिमा रोक लगाउने गरेको निर्णय विपरीत दमकमा फाउण्डेशन बनाएका हुन् । गोप्य राखिएको प्रस्तावित समितिलाई पार्टीभित्र भने सार्वजनिक गरिएको छैन । पार्टीभित्र तीव्र मतभेद चर्किदै गएपछि प्रधानमन्त्री ओलीले फाउण्डेशनमार्फत गतिविधि गर्न निर्देशन दिएलगत्तै उनको गृहनगरमा फाउण्डेशन बनाइएको स्रोतको दावी छ ।
पूर्व एमाले कार्यकर्ताहरुको केही दिनअघि सम्पन्न भेलाले एमाले दमक नगर कमिटीका अध्यक्ष अम्बिका खनालको अध्यक्षतामा फाउण्डेशन गठन गरेको हो ।
११ सदस्यीय समितिको प्रस्तावित सदस्यहरुमा विष्णु न्यौपाने,कृष्ण तिम्सिना,डिल्लीरमण पौडेल,इन्द्र गुरुङ,राम प्रधान,विश्व बराल,झसराज ढकाल,यमुना गौतम,नरपति पाण्डे र गिरेन्द्र चम्लागाई रहेका छन् ।
यस्तै, तीन सदस्यीय एक सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिमा बोधराज घिमिरे,बोधराज न्यौपाने,गेहनाथ अधिकारी लगायत रहेका छन् ।
जानकारी नै नदिई फाउण्डेशन गठन गरिएपछि पार्टीभित्र केन्द्रीय नेतृत्वझै यहाँ पनि मतभेद चर्किएर जाने संभावना छ । पूर्व एमालेका कार्यकर्ताहरुले फाउण्डेशन बनाएपछि पूर्व माओवादीका नेताहरु सशंकित भएका छन् । नगरका पूर्व माओवादीका एक नेताले गोप्य रुपमा फाउण्डेशन गठन गर्नु पार्टी निर्णयविपरीत भएको जिकिर गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्