बिर्तामोड , कात्तिक २४ । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले झापाको बिर्तामोडमा सेवा विस्तार गरेको छ ।

भायनेटले २३ औं शाखाको रुपमा बिर्तामोडमा सेवा विस्तार गरेको हो । जसको आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्दप्रसाद लिङ्देनले उद्घाटन गरे । उनले कोरोना महामारीको यो विषम परिस्थितिमा भायनेटले सेवा विस्तार गर्नु राम्रो र चुनौतीपूर्ण भएको बताए । अहिले सबै विद्यालय र कार्यालयहरुमा इन्टरनेट जरुरी भइसकेको अबस्थामा बढीभन्दा बढी सेवाग्राहीहरुलाई सहज ढंगले सेवा दिने उद्येश्य राखेर काम गर्न कम्पनीलाई उनले आग्रह गरे ।

यसअघि भायनेटले विराटनगर ,धरान , इनरुवा , इटहरीलगायतका स्थानमा शाखा खोलेर सेवा प्रदान गर्दै आएको थियो । भायनेटले इन्टरनेट र केवुलको दुवै सेवा प्रदान गर्ने गरेको छ । निम्न र मध्यम वर्गीय उपभोक्तालाई लक्षित गरी सबैले उपयोग गर्न सकून् भन्ने उद्येश्यले फाइबरसहितको इन्टरनेट सेवा ल्याएको कम्पनीका शाखा प्रबन्धक नवीन चापागाईले बताए । उनले अहिले भायटिभी , भायसेक्योर , अल्ट्राबुस्टजस्ता सेवाका प्रकारहरु उपलब्ध रहेको जानकारी दिए ।

फाइबरसहितको इन्टरनेट सेवा दिनका लागि अहिले बिर्तामोडमा फाइबर बिछ्याउने काम भइरहेको बताउँदै उनले दुई वर्षभित्र जिल्लाभरि फाइबर पु¥याउने लक्ष्य रहेको जानकारी दिए । नेपालमा सन् १९९९ मा भायनेट स्थापना भएको हो । हाल बिर्तामोडमा वल्र्डलिंक , सुविसु, ब्रोडलिंक , टेक्टमाइन , एनटीफाइबरजस्ता इन्टरनेट कम्पनीका सेवाहरु उपलब्ध छन् ।