बिर्तामोड, कात्तिक २४ । दिन प्रतिदिन कोरोना संक्रमणबाट मानव क्षति हुने क्रममा झापामा थप तीन जना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुने तीनैजना पुरुष हुन् ।

बिर्तामोड नगरपालिका वडा नं ४ मा ९२ वर्षिय देवीप्रसाद खरेलको सोमबार विहान ४ बजे मृत्यु भएको हो । इलामबाट आएर उनी बिर्तामोड ४ स्थित छोराको घरमा बस्दै आएका थिए । करीव एक साताअघि ती बृद्धको घरमै स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
त्यस्तै बिर्तामोडको बिएण्डसी हस्पिटलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम जिल्लाका ५८ वर्षिय रामबहादुर थापा रहेका छन् । उनको आइतबार राति ९.१५ बजे उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १० पुगेको छ ।
त्यस्तै कोरोना भाइरसको संक्रमणवाट दमकमा सोमबार थप एक जनाको मृत्यु भएको छ ।
मोरङको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचाररत दमक १ निवासी ४२ बर्षिय डम्बर भट्टराईको सोमबार विहान मृत्यु भएको हो । मृतक दमक इसाई समाज दमकका पूर्व कोषाध्यक्ष तथा पाष्टर हुन् ।
दमक इसाई समाजका अध्यक्ष आकाश थुलुङ राईका अनुसार मृत्यु हुने भट्टराई दमकस्थित नाजरिन मण्डलीका पाष्टरको रुपमा कार्यरत थिए । उनलाई गत कार्तिक ७ गते संक्रमण देखिएको थियो । योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ र झापामा ६६ पुगेको छ ।
झापामा थपिए ६० संक्रमित
झापामा पछिल्लो २४ घण्टाभित्र झापामा ६० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये २४ महिला र ३६ जना पुरुष रहेका छन् । सोमबार थपिएका संक्रमितहरु जिल्लाका १२ वटा पालिकाका रहेका छन् । त्यस्तै पालिका नखुलेकाबाट ९ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार सबैभन्दा बढी दमकका १८ जना रहेका छन् ।दमकमा ९ महिला र ९ पुरुषमा संक्रमण पुष्टि भएको हो । दमकपछि बिर्तामोडमा ६ महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै स्थानीय बासिन्दा हुन् ।यसैगरी, गौरादहमा १ महिला, १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुर, कमल र गौरीगञ्जमा १–१ महिला, अर्जुनधारामा १ महिला र १ पुरुष, कचनकवलमा १ महिला र २ पुरुष, बुद्धशान्तिमा २ पुरुष, शिवसताक्षीमा १ पुरुष, कनकाईमा २ महिला र २ पुरुष तथा पालिका नखुलेका स्थानबाट १ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । हालसम्म झापामा २ हजार ६४९ जना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ हजार ६१३ जना निको भएका छन् । अहिले संक्रिय संक्रमितको संख्या ९७० रहेको छ ।
इलाममा एक कोरोना संक्रमितको मृत्यु
इलाममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा देउमाइ नगरपालिका वडा नं ४ मंगलबारेका ६८ वर्षिय पुरुष रहेका छन् । बिराटनगरको नोबल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य समस्या देखा परेपछि उनलाई नोबलमा भर्ना गरिएको थियो। उनलाई कार्तिक १९ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो। योसँगै इलाममा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्