बिर्तामोड, कात्तिक २७ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले हिउँदे बाली गहुँ, तोरी र तरकारीका लागि मलको अभाव नहुने बताएका छन् । ठेकदारले मल ल्याउन नसके पनि अब सरकारले किनेर ल्याउने उनले बताए ।


हिउँदे सिजनका लागि ९० हजार मेट्रिकटन युरिया मल जोहो हुने मन्त्री भुसालको दाबी छ । छिट्टै नै ४५ हजार मेट्रिकटन डीएपी र ९० हजार मेट्रिकटन युरिया मल उपलब्ध हुने चरणमा रहेको उनले बताए । मन्त्री भुसालले बंगलादेशबाट पैंचोमा मल ल्याउन केही प्राविधिक समस्या देखिए पनि गहुँका लागि मल आइपुग्ने बताए ।


सरकारले किनेको ४० हजार मेट्रिकटन युरिया मल अहिले पनि नेपाल भित्रिरहेको छ । “हामीले बंगादेशसँग पैंचोमा मागेको ५० हजार मेट्रिक टन मल ल्याउन केही प्राविधिक उल्झनहरु देखिए पनि अब मल आउने निधो भएको छ” मन्त्री भुसालले भने, “सरकारले खरिद गरेरै बंगलादेशबाट मल ल्याउने निर्णय गरेको छ । अब छिट्टै मल ल्याउने प्रक्रिया सुरु हुन्छ ।”

दुबै मल किसानले हिउँदे बाली, मुख्य गरी गहुँमा हाल्न पाउने मन्त्री भुसाल बताउँछन् । हिउँदका लागि ९० हजार मेट्रिकटन युरियाका साथै ४५ हजार मेट्रिकटन डीएपी मल उपलब्ध हुने जनाइएको छ । २० हजार मेट्रिकटन डीएपी आइसकेको र बाँकी आउने चरणमा रहेको मन्त्री भुसालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्