भद्रपुर , कात्तिक २७ । जिल्ला प्रहरी कार्यालय झापा र त्यसमातहत रहेको प्रहरी कार्यालयहरूले करिब २० लाख बढीको बारुदजन्य पटाका बरामद गरेका छन् ।

करिब एक महिनाको अवधिमा बरामद गरिएका विभिन्न प्रकारका पटाकालाई आज पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय झापाले कार्यालय परिसरभित्रै खाल्डो खनेर नष्ट गरेको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्र्याएको पटाकाहरू प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो । प्रहरीले घरमा छापा मारेर र सीमा नाकाबाट भित्रिँदै गरेको अवस्थामा ती पटाका बरामद गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले बताए । प्रहरीले अढाई सय सटसम्मको आकाशमा पड्किने पटाका, जगमग, खुर्सानी, झिरझिरे, अनार लगायत नाम गरेका पटाकाहरू भद्रपुर, काँकडभिट्टा, गौरीगञ्ज, झापा गाउँपालिका लगायतका क्षेत्रबाट बरामद गरेको एसपी कोइरालाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्