दमक,कार्तिक २७ । कमल गाउँपालिका ५ स्थित लगनशील कृषि सहकारी संस्थाले आज आफ्नो १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाको नवनिर्मित सभाहलमा एक कार्यक्रम गरी साधारणसभा गरिएको सचिव भिष्मप्रसाद सिटौलाले बताए ।
सहकारीका पूर्व अध्यक्ष समेत रहेका कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले संस्थाको सञ्चालक समितिमार्फत प्रस्तुत प्रतिवेदन र लेखा समितिबाट प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

सभामा सञ्चालक समितिका अध्यक्ष लालबहादुर विष्टले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा संयोजक युवराज कार्कीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष गोविन्द खनालले स्वागत मन्तव्य राखेको सभाको उद्घाटनमा चन्द्रदर्शन साकोसका अध्यक्ष वालकृष्ण गौतम, युनाईटेड साकोसका अध्यक्ष ललित बान्तवा, हाम्रो सुरक्षा साकोसका अध्यक्ष गोविन्द तिवारी, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी अध्यक्ष उषा भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

साधारणसभाको वन्दसत्रले गत वर्षसहित आर्थिक बर्ष २०७७ —०७८ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरु समेत पारित गरेको व्यवस्थापक तिलक कार्कीले जानकारी दिए ।
साधारणसभामा गत वर्ष उत्कृष्ठ कारोवारसंगै ज्येष्ठ नागरिक ,उत्कृष्ठ बाल बचत,उत्कृष्ठ भैसीपालन,उत्कृष्ठ कुखुरापालन, उत्कृष्ठ दुध उत्पादन किसान, उत्कृष्ठ तरकारी खेती,स्वच्छ दुध उत्पादन,नियमित दुध उत्पादन,ज्येष्ठ किसान गरी ५१ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । उत्कृष्ठ हुने दुध उत्पादक किसानलाई दुध राख्ने ट्यांकी प्रदान गरिएको थियो ।

३० जना शेयर सदस्यहरुको ९० हजार शेयर पूँजीवाट शुरु भएको सहकारीमा हाल शेयर पूँजी २ करोड १६ लाख १२ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा तथा अन्य कोषहरुमा १ करोड ५८ लाख २८ हजार ६ सय २९ , निक्षेप १२ करोड ७४ लाख ८८ हजार ३ सय ४५, ऋण लगानी ७ करोड ८७ लाख ३७ हजार ९ सय ६७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, संस्थाले सोही बर्ष २ करोड ७९ लाख ६१ हजार ३ सय ४५ आम्दानी गर्न सफल भएको छ भने २ करोड ३३ लाख ६४ हजार ५ सय ७९ खर्च भएको उल्लेख छ ।यसअघि सहकारीले साधारणसभाका अवसरमा रक्तदान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्