‘पार्टनर अफ द मेरिज चुज वाई गड नट वाई मेन’– ‘भनिन्छ विवाह गर्ने साथी भगवान्ले छान्छन् मान्छेले हैन ।’ विवाहलाई लिएर विभिन्न भनाइहरु हामीले पाउन सक्छौ । कसैलाई विवाहको लागि वर या बधु खोज्दा—खोज्दा नजुरेपछि यसको लागि कही न कतै त जन्मिएकी होली भनेर भन्ने गर्ने चलन हाम्रो गाउँघरमा रहेकै छ । विवाह नारी र पुरुषबीचमा हुने मानव सभ्यताको थालनी हो । विवाहलाई एउटा सम्झौताका रुपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले संगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ ।

अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर दर्ता विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ । मनुस्मृतिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन भनेको छ । आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवानले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ । स्कन्ध पुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ । हाम्रो समाजमा विभिन्न जातजाति ,धर्म र सम्प्रदायअनुसार विवाह कर्ममा केही फरक—फरक संस्कारहरु पाईन्छन् ।
विवाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरित लिङ्गी व्यक्तिलाई एक सुत्रमा बाँध्छ र सामाजिक ,धार्मिक तथा कानुनी रुपले मान्य हुन्छ । महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु , यौन सम्वन्धमा संलग्न हुनु तथा यौन इच्छाको परिपूर्ति र यौन सन्तुष्टि प्राप्त गर्नु ,सन्तान उत्पत्ति गर्नुका साथै तिनको लालनपालन एव सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्वन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।

विवाह के हो ?यस विषयमा अनेकौ रमाईला भनाइ स्मरण आउँछन् । कोही भन्छन् विवाह सामाजिक बन्धन हो । यसलाई मानव सभ्यताले निर्माण गरेको पारिवारिक संगठन पनि भन्न सकिन्छ । जसले महिला र पुरुषलाई निजी परिवार बनाउन उत्प्रेरित नियमित र संगठित गर्छ । कसैले भन्छ विवाह एक प्रकारको करारनामा हो । यस्तो करारनामा जसका नाममा महिला र पुरुषले आफ्नै जीवनमाथिको स्वपन र स्वामित्व गुमाउँछन् ।
विवाह किन गरिन्छ ?यसमाथि पनि अनेकौ रोचक बहस छन् । के यो जैविक आवश्यकता हो ?अथवा यो सन्तान प्राप्तिको साधन हो ?कि यो दुई आत्माको मिलन हो ? जैविक आवश्यकताका लागि विवाह नै गर्नुपर्छ भन्ने छैन् । पछिल्ला समय विवाह र यौनलाई पृथक रुपमा बुझ्न थालिएको छ । सन्तान प्राप्तिका लागि पनि अरु अनेकौ उपाय हुन सक्छन् ।

छोराको विवाह गर्नु पर्यो , छोरीको उमेर गई सक्यो भन्ने अभिभावक पनि यसै समाजमा छन् । पश्चिमी सभ्यतामा विवाहलाई खासै महत्व दिएको पाईदैन । तर हाम्रो देश र समाजमा विवाहलाई मानव जीवनको एउटा महत्वपूर्ण कर्मको रुपमा लिईन्छ । नदेखेको हुन्छ , न बोलेको हुन्छ , न अन्य केही गरेको हुन्छ विवाहको लागि भेटेपछि विवाह गर्न हामी तयार हुन्छौं ।विवाहको लगन आएपछि या हामीलाई मन परेपछि माया बढ्न थाल्ने , चिन्ता र चासो लिनु पर्ने ।जीवनमा पहिलोपटक देखेको मान्छेसंग जीवन संगै विताउन तयार हुन्छौ । त्यस क्षणलाई देखेको मान्छे भनौ की लेखेको मान्छे भनौ ! न वानी थाहा हुन्छ ,न व्यवहार ,हामीले अर्कालाई राम्रोसंग चिनेको पनि हुँदैन तर पनि हामी विवाह वन्धनमा बाँधिन तयार रहन्छौ । अभिभावकको इच्छा भनौ कि आफ्नो रहर,इच्छा भनौ या उमेरको माग हामी विवाह गर्दछौ ।

हिन्दु संस्कारमा विवाह एउटा कर्ममा पर्दछ । तसर्थ हामी विवाह बन्धनमा बाँधिनु हामी संस्कारी भएर रहनु समेत हो । विवाह गर्दा दुई परिवार एक हुन्छ, नाता सम्वन्ध थपिन्छ । दुई परिवारमा नै खुसी छाउँछ । विवाहको पल सम्झदा हामी धेरै खुसी हुन्छौ ,खुसी भएर नै विवाह गरेका हुन्छौ । हिजोभन्दा आज विवाहको महत्व वढ्दो छ । फुलमाला भएको दिनदेखि दुई परिवार एक भएका हुन्छन् । दुई मन एक भएको हुन्छन् । विवाहका सपिङ सँगै गरिन्छ । रहर इच्छा एक आपसका जान्न थालिन्छ । आनीबानी धेरथोर बुझिन्छ ।अनि धुमधाम होस् या आफ्नो आर्थिक अवस्था अनुसार, आफ्नो रीतिरिवाजअनुसार विवाह गरिन्छ । दुई परिवार एक भइन्छ । दुई मन एक भइन्छ ।

हिजो हाम्रो हजुरवुवाहरु भन्ने गर्नु हुन्थ्यो —हाम्रो विवाह हुँदा तेरो हजुर आमा नौ—दश बर्षको थिई म चाहिँ बाह्र—चौध बर्षको थिएँ होला । अझै पनि हामीले यसै समाजमा भेट्ने गर्दछौ विवाह गरेको हामीलाई थाहा हुँदैन थियो । तर हामीलाई अर्काको घर जानु पथ्र्यो । कुटो कोदालो , भान्सा सकी नसकी गर्नु पथ्र्यो । सासुको खटन ससुराको हैकम हँुदा श्रीमान् हाम्रो हो कि हैन जस्तो हुन्थे । श्रीमान् श्रीमती हामी हँुदा हाम्रो बोलचाल पनि खासै हँुदैन थियो । इच्छा आकांक्षा हामीलाई थाहा हुँदैन थियो । मिठो मसिनो हामीलाई एक अर्काको थाहा हुँदैन थियो ।दाउरा घास, मेलापात नै हाम्रो जीवन थियो तर पनि हामी श्रीमान श्रीमती हाम्रो सम्वन्धमा सधै राम्रो थियो ।हाम्रा अभिभावकहरुले हाम्रो विवाहको निर्णय गर्नु हुन्थ्यो हामीलाई हाम्रो विवाह भन्नेसम्म थाहा हुँदैन थियो । सानै उमेर विवाह हो कि केटाकेटी खेलेको जस्तो हुन्थ्यो हाम्रो विवाहको कार्यक्रम पनि ।तर अहिलेको विवाह गरेको हेर्दा म छक्क पर्छु छिनमा विवाह हुने छिनमा विवाह तोडिने खै कस्तो हो आजभोलिको विवाह अनि सम्वन्ध एक जना हजुरआमा भन्दै हुनु हुन्थ्यो ।

समय फेरियो , सोच फेरियो, तरिका फेरियो तर विवाह गर्ने चलन चलिरहेको छ । विवाह भनेको लेखेर हुन्छ देखेर हुँदैन भन्ने समाज आज देखेर नै विवाह हुन थालेको छ । परिवारको इच्छा चाहना र विवाहको निर्णय दुई परिवारका अभिभावकले गर्ने चलन थियो तर आज अभिभावकभन्दा विवाह गर्ने केटाकेटी नै निर्णयकर्ता भएका छन् । परिवारको इच्छाभन्दा केटाकेटीको इच्छालाई प्राथमिकतामा राखेका छन् । मन मिलिन्जेल सम्वन्ध, मन नमिलेपछि आफ्नो आफ्नो स्वतन्त्र जीवन भन्ने मानसिकता बढ्दो छ । परिवारको इच्छा चाहना मान मर्यादा भन्दापनि व्यक्तिगत इच्छाको बढी प्राथमिकता रहेको छ । एक अर्काप्रतिको त्याग र समर्पण , मानमर्यादा एकआफसमा घट्दो छ । आफ्नो खुसी नै जीवनको खुसी ,आफ्नो इच्छा नै सर्वोत्तम इच्छा भएको छ । विवाह भनेको दुई आत्माको मिलन भनेर भनिरहँदा दुईटा मनका इच्छा चाहना पनि एक हुनु पर्छ यसमा एकले त्याग गर्नैपर्छ । एकले समर्पण गर्नैपर्छ । एक आपसको इच्छालाई आफ्नो इच्छा बनाउन सक्नु पर्छ । परिवार आफन्तको मर्यादा आफूले राख्नैपर्छ । अभिभावकको इज्जत प्रतिष्ठालाई हामीले गुमाउनु हँुदैैन । दुई परिवार एक हुनु भनेको दुखसुख पनि बाँड्नु पर्छ । साथ सहयोग हुनु पर्छ ।

विवाहले दुई जीवनमात्र एक भएको हैन, यसमा धेरै सम्वन्धहरु जोडिएका हुन्छ । धेरै कर्तव्यहरु बनेका हुन्छन् ।विवाहपछि श्रीमान श्रीमती हुँदा जीवनका भोगाई संघर्ष सँगै गर्नु पर्छ । आफ्नो इच्छा नमिल्न सक्छ , रोजाई अलगअलग हुन सक्छ , स्वाद एक एर्कालाई मन नपर्न सक्छ ,विचार अलग हुन सक्छ , तर जिन्दगी सँगै जिउनु पर्छ । इच्छा,आकांक्षा,चाहना,र उद्धेश्यहरुलाई दवाएर पनि पारिवारिक सम्वन्धहरुलाई अगाडी बढाउनु पर्छ । त्याग र समर्पणले नै पारिवारिक जिन्दगी अगाडी बढेको हुन्छ । जन्म अलग, परिवेश अलग,रहनसहन अलग,संस्कार र संस्कृति अलग भएता पनि जीवनका रथका दुई पांग्रा भएर हिडनु पर्ने ।

‘सादी करके फसगया यार’भन्ने पनि धेरै साथीहरु भेटिन्छन् । स्वतन्त्र जीवनबाट एक्कासी बन्धनमा बाँधिदा दुईजनालाई नै आफ्नो जीवनमा स्वतन्त्रता गुमेजस्तो भान हुन्छ । आफ्नो इच्छा चाहनामा अरुले हैकम गरेजस्तो हुन्छ । विचार नमिलेर मानसिक तनाव पनि हुन सक्छ । अनि जीवनमा एकपटक लाग्न पनि सक्छ बेकार विवाह गरेको भनेर । हामी जीवनमा बढी कोसंग झगडा गर्छाै सोचौ त !पक्का पनि श्रीमान श्रीमती नै धेरै झगडा गछौ ।श्रीमान श्रीमतीबीचमा नै बढी माया प्रेम रहन्छ । अरुको जोडी हेर्दा कति मिलेको देख्छौ । हाँसीखुसी रहेको देख्छौ । घर परिवारमा कति मेलमिलाप देख्छौ । तर आफ्नो परिवारमा दुखी भएको पाउँछौ । हामी मानवको स्वभाव नै यस्तो छ कि अरुको सुख मात्र देख्छौ अनि अरुको सुख देखेर आफू दुखी बन्छौ ,तर आफ्नो सुख देख्दैनौ दुख मात्र महसुस गर्छौ ।दुखमात्र महसुस गर्छाै । सम्वन्धमा झैझगडा सवैको हुन्छ यसैले माया पनि बढाउँछ । सम्वन्धलाई प्रगाढ पनि बनाउँदछ ।

श्रीमान श्रीमतीको झगडा परालको आगो भन्ने त परापूर्वकालबाट चलेको कथन नै छ । यो कथनले पनि के पुष्टी गर्छ भने यो सम्वन्धमा झगडा पर्छ नै र यो सम्वन्धबीचको झगडालाई हामीले परालको आगोझै सम्झनु पर्छ भनेर समेत भन्ने खोजिएको छ । विवाह हामी खुसी भएर गरेका हुन्छौ । यो खुसीलाई जीवन्त राख्नु पर्छ । विवाह भनेको दुई मुटुमात्र एक भएको हैन, सुखदुख पनि एक हुन सक्नु पर्छ । हाँसो,खुसी , झगडा, दुख , अभाव त जीवनमा आउनै पर्छ यी यस्तै घटनाबाट हामीले सिक्दै,जीवन भोग्दै अगाडी बढ्नु पर्छ विवाहबाट बनेको एक अर्काको सम्वन्धलाई अझ दरो बनाएर राख्नु पर्छ । यी यस्ता घटना क्षणिक हुन् । आवेग, प्रतिशोधलाई कन्ट्रोल गरेर एक अर्कालाई आदर ,सम्मान गरेर सम्वन्धलाई अझ प्रगाढ बनाएर जीवनको रथ दुई पांग्रालाई मजवुत बनाउनु पर्छ ।विवाहको कर्म गरिरहँदा मण्डपलाई सात फेरा लगाई रहँदा हाम्रो संस्कार र संस्कृतिले हामीलाई धेरै कुरा सिकाएको हुन्छ ।

हाम्रो समाजमा विवाह जीवनमा भरसक एकपल्ट गरिन्छ यो विवाहबाट बनेको बन्धनलाई हामीले जीवन्त राख्न सक्नु पर्छ । विवाहबाट बनेका सम्वन्धले नै संसार चलेको हुन्छ । सन्तानको सृिष्ट जीवनको बृद्धि विवाह बन्धनबाट नै हुने हँुदा यो संस्कार जीवन्त रहनु पर्छ । यसैबाट नाता सम्वन्धहरु बनेका हुन्छन् । जीवन चलेको हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्