झापा, कात्तिक २८ । झापाको बिर्तामोडमा सञ्चालित एक गुट्खा उद्योगले लकडाउनमा राजस्व छलेको तथ्य फेला परेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनको समयमा बिर्तामोडमा सञ्चालित नारायणराज प्रोडक्स प्रालिले उत्पादन गरेको मौका नामको हजारौँ बोरा गुट्खा र पराग बिना भ्याटबिल बढी मूल्यमा बिक्री गरेर राजस्व छलेको हो ।

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको समयमा बिर्तामोडस्थित पन्चकन्यामा रहेको नारायणराज प्रोडक्स प्रालिले उत्पादन गरेको गुट्खा स्थानीय व्यापारीलाई अधिक मूल्य असुलेर बिक्री गरेको र कतिपयलाई भ्याटबिल समेत नदिएको स्थानीय व्यापारीले बताएका छन् । बिर्तामोडस्थित सिस्टर एण्ड ब्रदर्शका सञ्चालकले आफूले गुट्खा खरिद गर्दा दोब्बर मूल्य तिर्नुपरेको र भ्याट बिल नपाएको बताए । उनले भने, ‘शुरुमा ९ हजारको गुट्खालाई १२ हजार २ सय पचास रुपैयाँ लियो तर भ्याट बिल दिएन, भ्याट बिल नपाएको बिषयमा उद्योगमा कुरा राख्दा बल्ल ९ हजार ४० रुपैयाँ प्रतिबोराको मात्रै बिल दियो, उद्योगले अधिकांशलाई बिना भ्याट बिल गुट्खा बिक्री गर्दोरहेछ । तर, आफूले भने तिरेकोभन्दा कम रकमको भएपनि बिल पाएँ । ’

उद्योगले बिर्तामोडकै व्यापारी रोमित साहलाई पनि बिना बिल १५ केजी गुटका बिक्री गरेको पाइएको छ । लकडाउनमा गुट्खा उद्योगले कर छली गरेको र अनावश्यक मूल्यवृद्धि गरेको भन्दै स्थानीयले २ बोरा गुट्खा खरिद गरेका व्यापारी साहलाई सोधपुछ गर्ने क्रममा बिल बिनै सामान बिक्री गर्ने गरेको कुरा खुलेको हो । साहले शुरुमा ९ हजार प्रतिबोरा पर्ने गुट्खा १३ हजार प्रतिबोरा तिरेर २ बोरा खरिद गरेको र भ्याट बिल नदिएको बताए । तर, स्थानीयले अन्तःशुल्कमा दर्ता भएको सामान यसरी बिना बिल ओसारपसार र खरिद गर्न नपाइने बताएपछि उद्योगमा फोन गरी बिल मगाएका थिए । उद्योगलाई २ बोरा गुट्खाको २६ हजार रुपैयाँ तिरेको भएपनि १८ हजार ८० रुपैयाँको मात्र भ्याट बिल काटेको पाइएको छ ।


यी दुई त केवल प्रतिनिधि घटना मात्रै भएको र यस्ता हजारौँ बोरा गुट्खा बिना बिल बिक्री गरिएको बिर्तामोडका एक व्यापारीले नाम नखुलाउने शर्तमा बताए । उनले सामान सटेज भएको समयमा उद्योगले करिब ५ करोड मूल्य बराबरको गुट्खा बिना बिल बिक्री गरेको दाबी गरे । उनले भने ‘नारायणराज प्रोडक्सले जेठमा मात्रै करिब ३ करोड रुपैयाँ त राजश्व मात्रै तिरेको छ भने यसरी अबैध बाटोबाट त कति सामान बिक्री ग¥योे कति, रातारात उत्पादन गरेरे आफन्तको गोदाममा भण्डारण गर्दै बाहिरबाहिरै हजाराँै बोरा बिना बिल बिक्री ग¥यो ।’

उनले उद्योगका सञ्चालक पर्शुराम अग्रवाल उच्च ओहोदाका कर्मचारीसँग उठबस भएका व्यक्ति भएकाले उनको बिरुद्धमा बोल्ने जो कोहीलाई पनि राजश्व अनुसन्धान विभाग र स्थानीय प्रहरी लगाएर लफडामा पार्ने गरेकाले आफ्नो नाम गोप्य नै राख्न आग्रह समेत गरे । उद्योगले केहीलाई मनिषा इम्पेक्सको भ्याटबिल उपलब्ध गराएको भएपनि तिरेको मूल्यभन्दा निकै कम रकमको मात्रै बिल दिने गरेको उनीहरुको भनाइ छ ।

नियमअनुसार आफूले उत्पादन गरेको गुट्खाको परिमाणका आधारमा ६ सय २५ रुपैयाँ प्रतिकेजी अन्तःशुल्क, २५ रुपैयाँ स्वास्थ्यकर र १३ प्रतिशत भ्याट वापतको रकम अग्रिमरुपमा आन्तरिक राजस्व कार्यालयमा बुझाएपछि मात्रै तोकिएको परिमाणको गुट्खा दिनको समयमा उद्योगले सेल्सडिपोलाई बिक्री गर्न मिल्ने नियम छ । तर, नारायणराज प्रोडक्सले भने उद्योगबाटै सोझौँ व्यापारीलाई मनिषा इम्पेक्सको बिल प्रयोग गरेर बिक्री गर्ने गरेको खुलेको छ । अरु गुट्खाजन्य उत्पादन बन्द भएको समयमा उद्योगले रातभर साना सवारीको प्रयोग गरी हजाराँै बोरा गुट्खा बिक्री गरेको उद्योग आसपासका प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय युवाले उद्योग राजश्व छलेको र अत्याधिक मूल्य असुलेको भन्दै त्यसको बिरोध गरेपछि उनीहरुलाई समेत ५ बोरा गुट्खा प्रतिदिन उपलब्ध गराएर घटना सामसुम पारिएको बताइन्छ ।

राजश्व अनुसन्धान विभागका हाकिमहरुसँग राम्रो उठबस भएका उद्योगका सञ्चालक पर्शुराम अग्रवालले सधै शक्तिको आडमा यस्तै धन्दा चलाउने गरेको झापाका व्यापारीहरुले नै बताउँदै आएका छन् । उनको शक्तिको सामु सरकारी संयन्त्रसमेत ‘तैचुप मैचुप’ हँुदै आएकाले उनको यस्ता प्रकृतिका धन्दाले प्रश्रय पाउँदै गएको हो । यस विषयमा संचालक अग्रवाललाई सोध्दा उनले सो गुट्खा उद्योग व्यवस्थापक प्रेम सिंहलाई जिम्मा दिएको बताए । उनले व्यवस्थापक सिंह भारत गएको र यस विषयमा पछि कुरा गर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्