बिर्तामोड, कात्तिक २८ । गत आर्थिक वर्ष झापाको बिर्तामोड नगरपालिकाले नगरभित्रका महिलालाई कृत्रिम फूलमाला बनाउने तालिम दियो । नगरपालिकाले दिएको तालिममा सबै वडाका महिलाको प्रतिनिधित्व थियो । काठमाडौँबाट प्रशिक्षक ल्याएर लाखौँ रुपैयाँ खर्चेर तालिम दिएपनि महिलाहरुले फूल बनाएर बजारमा ल्याउन भने सकेनन् ।

नगरपालिकाले कृत्रिम फूलको माला बनाउने तालिम दिएपनि बजारमा भने भारतीय कृत्रिम माला मात्र छ । कृत्रिम माला बनाउन आवश्यक कच्चा पदार्थ महँगो पर्ने भएपछि माला बनाउन नसकेको बिर्तामोड नगरपालिका –८ की वडा सदस्य लक्ष्मी दर्नालले बताइन् । “हामीले टोल समिति मार्फत् तालिम दिएका थियौँ” दर्नालले भनिन्, “२ लाख रुपैयाँ लगानीमा वडाका ३० जना महिलालाई तालिम दिएका थियौँ ।” तालिम लिएका महिलाहरुले बनाएको फूल २–४ पटक हामीले वडाकै कार्यक्रममा प्रयोगसमेत ग¥यौं । त्यसपश्चात लागत मूल्य धेरै पर्ने भएपछि बनाउन नसकेको दर्नाल बताउँछिन् ।
बिर्तामोड ३ की गायत्रा भट्टराईले पनि नगरपालिकाले दिएको तालिम लिइन् । भट्टराई वडा कार्यालयले दिएको तालिममा प्रशिक्षकसमेत भइन् । माला बनाउन समय लाग्ने र कम मूल्यमा बिक्री गर्नुपर्ने भएकै कारण महिलाहरुले माला बनाउने पेशालाई निरन्तरता दिन नसकेको भट्टराईले बताइन् । माला बनाउन आवश्यक कच्चा पदार्थ लिन विराटनगरसम्म पुग्नु परेको भट्टराईको भनाइ छ । केही महिलाहरुले घरायसी प्रयोगका लागि मात्र माला बनाउने गरेको भट्टराईले बताइन् । बजारमा भारतीय माला सस्तो मूल्यमा पाइने भएकाले आफूहरुले प्रतिस्पर्धा गर्न नसकेको उनी बताउँछिन् ।
झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट यस वर्षको तिहारका लागि कृत्रिम मालाको आयात भने ह्वात्तै घटेको छ । काँकडभिट्टा नाका हुँदै यस आवमा ६ हजार ४ सय ७ किलोग्राम कृत्रिम माला भित्रिएको छ । यस वर्ष तिहारलाई लक्षित गरी भारतबाट भित्रने कृत्रिम फूलमालामा कमी आएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख धु्रवराज विश्वकर्माले बताए । भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७–०७८ को साउनदेखि कात्तिकसम्मको अवधिमा भारतबाट सो परिमाणमा कृत्रिम फूलमाला आयात भएको जनाएको छ । भन्सार कार्यालयबाट ६ लाख १५ हजार रुपैयाँको कृत्रिम फूलमाला भित्रिएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । भन्सारले कृत्रिम फूलमाला आयातबाट १७ हजार १६ सय ९६ रुपैयाँ राजस्व संकलन गरेको छ ।
झापामा हरेक वर्ष असोज र कात्तिक महिनामा सबैभन्दा बढी कृत्रिम फूलमाला आयात हुने भएपनि यस वर्ष कोरोना महामारीको कारण फूल आयातमा गत वर्षको तुलनामा ९० प्रतिशतले कमी आएको छ । गत वर्ष सोही अवधिमा काँकडभिट्टा नाका हुँदै भारतबाट ५९ हजार ५ सय ७४ किलोग्राम कृत्रिम फूलमाला भित्रिएको थियो । सो अवधिमा ४७ लाख ५४ हजार ७ सय रुपैयाँको कृत्रिम फूलमाला भित्रिँदा १४ लाख १३ हजार ९ सय १७ रुपैयाँ राजस्व संकलन भएको थियो ।
तिहारमा दियो, बत्तीलगायतको प्रयोग बढ्ने भएकाले कृत्रिम फूलमालाबाहेक झापामा भारतबाट मैनबत्ती, अगरबत्तीलगायतका सामानहरु समेत आयात भएका छन् । मेची भन्सारबाट यस वर्ष झिलिमिलि बत्ती भने थोरै मात्रामा आयात भएको जनाएको छ । काँकडभिट्टा भन्सार नाकाबाट मात्रै नभएर भद्रपुर भन्सार कार्यालय साथै झापाका छोटी भन्सार कार्यालयहरुबाट समेत कृत्रिम फूलमाला, मैनबत्ती, दियोलगायतका सामान भित्रिने गरेका छन् ।
अधिकांश नेपालीले आफ्नो घरबारीमा सयपत्री, मखमलीलगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुने भएकाले झापासहित पूर्वी तराईका जिल्लाहरुमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ । झापामा पछिल्ला केही वर्षयता फूल खेती हुने गरेपनि बजार माग अनुसार उत्पादन हुन सकेको छैन ।