झापा , कात्तिक २८ । नेकपाका नेता एवं अर्जुनधारा गाविसका तत्कालीन अध्यक्ष कुन्दन भट्टराईको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा उपचाररत अर्जुनधारा ५ निवासी ६२ वर्षिय भट्टराईको आज साँझ ७.३० बजेतिर मृत्यु भएको हो । उनी राजधानीको भैसेपाटीस्थित मेडिसिटी हस्पिटटलमा उपचाररत थिए । उनलाई कात्तिक २३ गते एयर एम्बुलेन्सबाट काठमाडौ. लगिएको थियो । फोक्सोमा क्यान्सर भएका उनलाई काठमाडौंमा लगेर पिसिआर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि रानाले बताए । केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । अखिल नेपाल भारतीय स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध भएर उनले राजनीति थालेका थिए । उनी त्यस संगठनको महासचिव भएका थिए । नेपालमा भने उनले २०४२ सालदेखि कम्युनिष्टको राजनीति गरेका थिए । सरल, विकासप्रेमी र मिलनसार स्वभावका भट्टराई २०५१ सालमा गुठी संस्थानको महाप्रबन्धक भएका थिए । त्यस्तै २०५४ सालको निर्वाचनमा उनी तत्कालीन अर्जुनधारा गाविसको अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि उनी जिविस झापाको संयन्त्र सदस्य पनि भएका थिए । हाल अर्जुनधारा नगरपालिका वडा ५ का वडा सदस्य रहेका थिए ।उनको शवलाई काठमाडौंमै अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्