बिर्तामोड , कात्तिक २९ । बिर्तामोड–१ मा रहेको कित्ता नम्वर ५४७ लाई कित्ता नम्वर ६२२ राखेर जग्गा हडप्ने कार्यमा वडाध्यक्ष अग्नी पाण्डेको समेत संलग्नता देखिएको भन्दै नेपाल विद्यार्थी संघले दोषीमाथि कार्वाहीको माग गरेको छ ।

नेविसंघले बिर्तामोड १ मा ९ करोड बराबरको जग्गा किर्तेसम्बन्धी घटनामा १ नं वडाका वडाध्यक्ष पाण्डे समेतको संलग्नताको कुरा उठेकाले त्यस बिषयमा सर्वदलीय समिति बनाइ छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेको हो । बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटी र उप प्रमुख पवित्रा महतारा प्रसाईलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघको बिर्तामोड नगर समितिले सो माग गरेको हो । नेविसंघले कोरोना संक्रमण बिर्तामोडमा तीब्ररुपमा बढिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै निशुल्क पिसिआर परीक्षण गर्न माग समेत गरेको छ । बिर्तामोड–१मा रहेको कित्ता नम्वर ५४७ कित्ता नम्वर ६२२ राखेर जग्गा हडप्ने प्रयास भएको थियो । नापी कार्यालयले २०७७ साल साउन र असोज महिनामा एउटै जग्गाको फरक–फरक नक्सा दिएको खुलेको छ । वास्तविक जग्गाधनीलाई थाह नै नदिई भू– माफियाको टोलीले किर्ते कागजात खडा गरेर कतिपय बैंकबाट समेत ऋण लिएको खुल्न आएको छ । भगवती आवासीय प्रालिसँग जग्गा खरिद गरेका भविन्द्र निरौलाले किता नम्बर ५४७ बाटै आफूहरुले जग्गा खरिद गरे पनि अहिले कित्ता नम्वर नै परिवर्तन गरेर भू–माफियाको टोलीले आफूहरुलाई उठिवास लगाउन खोजेको आरोप लगाए । उनले उक्त कार्यमा बिर्तामोड–१का वडाध्यक्ष पाण्डेको संलग्नता रहेको दावी समेत गरेका छन् । त्यस्तै जग्गाधनी युवराज प्रसाईले आफूले कित्ता नम्वर ५४७ अन्तर्गतको जग्गा विभिन्न व्यक्तिलाई विक्री गरेर कतिपयले घर समेत बनाइसकेको अवस्थामा बिर्तामोड–१ का वडाध्यक्ष पाण्डेले उक्त स्थानमा घर नै नभएको भन्दै खाली जग्गा भनेर ६२२ कित्ता नम्वरका लागि सिफारिस दिनुले उनको समेत मिलेमतो भएको दावी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्