मेचीनगर,कात्तिक २९ । झापाको मेचीनगर नगरपालिकाको कार्यालयमा आज सम्पन्न सर्वपक्षीय बैठकले नगरपालिकाले जारी गरेको सार्वजनिक सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नगरका कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा संविधानसभा सदस्य रविन कोइरालासहितको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाले कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दैं शुभदीपावलीका अवसरमा देउसी भैलो नाचगानलगायतका भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउन , नेपाल संवत ११४१ का अवसर पारेर भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउन लगायतका ५ बुँदे सार्वजनिक सूचना जारी गरेको थियो । साथै कोभिड १९ को संक्रमण दरलाई मध्यनजर गदैं छठ पर्व घर आँगनमा नै कुण्ड बनाएर पूजा गरी मनाउन, नदी खोला र तलाउ पोखरी र जलाशयमा अस्थायी पण्डाल बनाएर यस वर्षको पूजा स्नान नगर्न समेत नगरवासीलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । प्रदेश सभासदस्यद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीसहितको उपस्थितिमा भएको बैठकले कोभिड १९ संक्रमण नियन्त्रणका लागि नगरपालिकाको तर्फबाट चिकित्सकसहितको आवश्यक जनशक्ति व्यवस्थापन, अक्सिजन, औषधि, अतिविपन्न परिवारलाई पौष्टिक आहारसहितको १४ दिनका लागि प्याकेज वितरण गर्ने साथै स्वास्थ्यकर्मीहरुको मोवाइल टोली, रेपिड रेस्पोन्स टिम निर्माण गरी आपतकालिन उद्घार गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्