बिर्तामोड , कात्तिक २९ । बिर्तामोड १ मा रहेको कित्ता नम्बर ५४७ लाई ६२२ बनाएर जग्गा हडप्न खोज्ने कार्यमा आफ्नो संलग्नता नरहेको वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताएका छन् ।

त्यस कार्यमा उनको समेत नाम मुछिएपछि वडाध्यक्ष पाण्डेले एक प्रेस विज्ञप्ति जारी गरी वडाले गरेको सिफारिसलाई लिएर केही व्यक्तिहरुले आरोप लगाएजस्तो अवस्था नरहेको र वडाले नापी शाखाको नाप नक्साको आधारमा सिफारिस गरेको उल्लेख गरेका छन् । उनले सो कित्ताका निवेदकको मागदाबी, जग्गाको नक्सा र अरु आवश्यक प्रमाणका आधारमा नै सिफारिस गरिएको दावी गरेका छन् ।

‘ जग्गा बिक्रीका लागि सिफारिस गर्दा आजसम्म कतै पनि फिल्डमा गएर हेर्ने प्रचलन थिएन र छैन पनि ’ उनले भनेका छन् ,‘ यति कुरा बुझेर पनि यस सम्बन्धमा मलाई जोडेर अनर्गल प्रचारबाजी गराइएको र विशुद्ध राजनीतिक क्षेत्रमा रहेको मानिसलाई भूमाफियाजस्तो शब्द प्रयोग गरिएकोमा घोर आपत्ति प्रकट गर्दछु ।’ यस विषयलाई लिएर बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले नगरपालिकाको तर्फबाट नापी शाखामा सो नक्साको कित्ता फेरबदल गर्ने कर्मचारीलाई कारबाही गर्न पत्र पठाएको र पुराना प्रमाणित नक्सालाई सामेल गरी ५४७ कित्ता नम्बर कायम गर्न सिफारिस गरिएको वडाध्यक्ष जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्