झापा ,कात्तिक ३० । बिर्तामोड नगरपालिका वडा नं. ३ शान्तिटोलका सबै महिलाहरुले एकजना महिलालाई यतिखेर घुइघुइती खोजी गरिरहेका छन् ।

उनीहरुले एक करोडभन्दा बढी रकम ठगेर फरार भएकी ती महिलाको खोजी गरिरहेका हुन् । टोल बस्तीभरिका दर्जनौं महिलाहरुलाई ठगेर रातारात फरार भएकी ती महिलालाई खोजी गरी रकम असुल गरिदिन प्रहरी चौकी बिर्ताबजार , इलाका प्रहरी कार्यालय बिर्तामोड , जिल्ला प्रहरी कार्यालयदेखि बिर्तामोडको ३ नं वडा कार्यालय , बिर्तामोड नगरपालिकासम्म उनीहरु गुहार लगाउन पुगेका छन् । सामाजिक संजालमा पनि उनीहरुले घटना सार्वजनिक गरेका छन् । तर, अहिलेसम्म ती महिला भेटिएकी छैनन् । यसरी करोडभन्दा बढी रकम ठगी गरी फरार हुने ३८ वर्षिया चन्द्रकला वाग्ले अधिकारी हुन् । उनले टोलभरिका महिलाहरुलाई ठगेकी हुन् । खासगरी श्रीमान्हरु विदेश गएका महिलाहरुलाई चन्द्रकलाले ठगेको पाइएको छ ।
आफ्नो घरजग्गा बिक्री गरी उनी गत असोज २८ गते राति सपरिवारसहित फरार भएकी हुन् । पाँचथर हिलिहाङ गाउँपालिकाको भालु चोक माइत भएकी चन्द्रकला २०६३ सालमा भवानी अधिकारीसँग विहे गरेपछि बिर्तामोड ३ को शान्ति टोलमा बस्दै आएकी थिइन् । कोहीसँग सापटी , कोहीसँग व्याजमा गरी उनले धेरैजनासँग रकम लिएकी थिइन् । त्यस्तै सुनको गहना लगाउन मागेकी चन्द्रकलाले कतिपयको गहना फिर्ता दिएकी छैनन् भने कतिपयको धितो राखेकी छन् । परिवारका सदस्यहरुलाई थाहा नदिनु भन्दै गोप्य रुपमा महिलाहरुबाट रकम लिएकी उनले महिला समूहको रकमसमेत लिएर फरार भएको पीडित इन्दिरा तिम्सिनाले बताईन् । जग्गा बेचेर दिने भन्दै आफ्नो १ लाख ७० हजार रुपैयाँ लिएकी उनले टोलका महिलाले समूह खोलेर भेला गरेको साढे ५ लाख रुपैयाँ समेत ठगेको इन्दिराले बताइन् । उनले ठगी गरेको महिलाहरुको सूची लामो छ । चन्द्रकलाले देवी राईको १४ लाख २० हजार , कुलकुमारी राईको ४ लाख ६० हजार , गोमा ढुंगानाको १ लाख २६ हजार , विमला थापाको २ लाख ५० हजार , रमा बस्नेतको १ लाख ३५ हजार , राममाया तामाङको १ लाख ७० हजार , सबिना बस्नेतको २ लाख , विष्णु प्रसाईको ८ लाख र साढे ५ तोला सुन , मन्जु खड्काको सुन, सुकमाया राईको १ लाख , रन्जना मगरको १ लाख ७० हजार , मन्जु पौडेल घिमिरेको २ लाख ४० हजार , रनमायाको १ तोला सुन ,इन्दिरा तिम्सिनाको १ लाख ७० हजारलगायत रहेको छ । ठगिने सबै महिला हुन् । त्यसबाहेक उनले अझै धेरैजनालाई ठगी गरेकी छन् । बिर्तामोड ३ शान्ति टोलमा उनको ९ धुर जग्गा र ठीनको छानो भएको घर रहेको थियो । सोही घरजग्गा देखाउँदै उनले धेरैजनालाई ठगेको पीडितहरुले बताएका छन् । एउटै जग्गा धेरैजनासँग बैना गरेर ठगेको पनि पाइएको छ । उनले मीना सिटौलासँग पनि २० लाख रुपैयाँ लिएकी थिइन् । तर, सो रकम जग्गा बेचेर उनले मिलाएको जनाइएको छ । जग्गा सुटुक्क बेचेर उनी पर्सीपल्ट राति फरार भएको स्थानीय जानुका थापा मगरले बताईन् । चन्द्रकलाले ठगी गरेको विषयमा महिलाहरुले आफूकहाँ उजुरी दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । उनले ती महिलाको खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्