कमल, मंसिर १ । झापाको कमल गाउँपालिका २ थापा गाउँमा गएराति आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ ।

कमल गाउँपालिका २ का धु्रव परियारको घरमा राति आगलागी हुँदा उनकी ७ बर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको हो ।बुवाआमा घर बाहिर रहेको र छोरी रेजुका मात्रै भित्र सुतिरहेको अवस्थामा मैनवत्तीबाट सो आगो लागेको जनाइएको छ । आगो दन्किएपछि उनलाई घरबाट निकाल्न नसकेको र घटनास्थलमै मृत्यु भएको हो । आगलागी राति ९ बजेतिर सुरु भएको अनुमान गरिएको छ । आगलागीबाट परियारको इटाको गारो र टीनको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिव १५ लाखबराबरको क्षति भएको छ । आगो निभाउने क्रममा ग्यास पड्किएर स्थानीय २२ वर्षिय राम टुडु घाइते भएका थिए । उपचारपछि उनी निको भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । आफूहरुलाई राति ९.१५ बजेतिर खबर आएको बताउँदै उनले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्