हल्दिबारी, मंसिर १ । झापामा १५ वटा स्थानीय तह छन् । ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका । जिल्लाका गाउँपालिकामध्ये विकासको दृष्टिकोणले हल्दिबारी एक नम्बरमा आउँछ । पछिल्लो समय जनप्रतिनिधिहरुबीचमा सामान्य विवाद देखिएपनि यसबाट गाउँपालिकाको समग्र विकासमा खासै असर परेको छैन । विकासको गतिले हल्दिबारीमा निरन्तरता पाइरहेको छ ।

सम्पूर्ण गाउँपालिकाबासीमाझ विकासका लागि लोकप्रिय बनेका गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीको सक्रियताका कारण विगतको तुलनामा हल्दिबारीमा अझ धेरै विकासका योजनाहरु परेका छन् । अहिले हल्दिबारीमा करीव दुई दर्जनभन्दा बढीका ठूला योजनाहरु संचालनमा छन् । गाउँपालिकाको आफ्नै बजेटदेखि लिएर संघ र प्रदेशसम्मका योजनाहरु उपाध्यक्ष गिरीकै पहलमा आएका हुन् । तराई मधेश समृद्धि कार्यक्रम , नेपाल सरकारको समपूरक अनुदानका कार्यक्रमले हल्दिबारीले विकासमा फड्को मार्ने देखिएको छ । खासगरी विकासको मुख्य मेरुदण्ड सडक संजालको विस्तार निकै प्रभावकारी सावित हुने भएको छ । रमाइलो चोकबाट बाघडाँडा हुँदै पाराखोपीबाट बिर्तामोड जोड्ने सडक , पिपल चोकबाट हल्दिबारी मावि हुँदै बिर्तामोड जोड्ने सडक , क्यानरी बोर्डिङबाट धनुषा कन्चनश्री हुँदै हुलाकी जोड्ने सडकजस्ता सडक संजालको निर्माण एकसाथ शुरु गरिएको छ । त्योसँगै लोकतान्त्रिक शहीद स्मृति पार्क ,भेलागुडी सिमसार क्षेत्र ,लक्ष्मी माविको भवन , विपन्न आवास कार्यक्रम , गाउँपालिकाको कार्यालय भवन निर्माणलाई हल्दिबारीको ठूलो योजनाको रुपमा मान्न सकिन्छ । जसको बजेट ल्याउन उपाध्यक्ष गिरीले नै पहल गरेका थिए । विकासको दृष्टिकोणले पछि परेको अबस्थामा हल्दिबारीको समग्र विकासको लागि प्रदेश र संघसँग गुहार मागेर बजेट ल्याउन सफल भएको बताउँदै उपाध्यक्ष गिरीले यसबाट सर्वसाधारण जनतालाई सेवासुविधाका पुग्ने बिश्वास व्यक्त गरे ।उनले यतिबेला संघ र प्रदेशमा नेकपाको सरकार भएकाले आफूलाई भनसुन गर्न सजिलो भएको प्रतिक्रिया दिए । उनले हल्दिबारी गाउँपालिकाका लागि थप बजेट ल्याउन लागेको जानकारी दिए । उपाध्यक्ष गिरीको पहलमा ल्याइएका महत्वपूर्ण योजनाहरु यस्ता छन् ।
पूर्वको आकर्षक पर्यटकीय क्षेत्र भेलागुडी सिमसार
हल्दिबारी गाउँपालिका २ मा रहेको भेलागुडी सिमसार क्षेत्र पूर्वको आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदैछ । जुन ९६ हेक्टरमा फैलिएको छ ।

हल्दिबारी गाउँपालिकाले त्यस सिमसार क्षेत्रमा गौरवको आयोजनाको रुपमा भेलागुडी लोकतान्त्रिक शहीद स्मृति पार्क निर्माण गर्न लागेको छ । गाउँपालिकाले दोस्रो गाउँसभाबाट सो आयोजना पारित गरेको थियो । ८ करोड ३९ लाखको इस्टिमेट गरिएको सो आयोजना अन्तर्गत ३ करोडमा सामुदायिक संग्रहालय बनाउने , झोडी सफा गर्ने , तारबेरा गर्ने , बाटो विस्तारको काम हुँदैछ । त्यस्तै बाँकी ६ करोड रुपैयाँले आधारभूत काम गरिदै छ । नजिकैको देउनिया खोलामा तटबन्ध , काठे पुल , पोखरीको तटबन्ध, पोखरीको वरिपरि रिङरोड , सामुदायिक भवन , शौचालय , पानीको फोहरा निर्माणजस्ता काम त्यस बजेटले गरिने भएको हो । आगामी चैत मसान्तभित्र ती सम्पूर्ण योजनाहरु सम्पन्न गर्ने लक्ष्य छ । संघीय सरकारको पर्यटन मन्त्रालयको पर्यटन प्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत पार्क निर्माण गरिन लागिएको हो । त्यसका लागि शुरुमा १ करोड ३० लाख रुपैयाँ निकासा गरिएको थियो । त्यस्तै प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्योसँगै हल्दिबारी गाउँपालिकाले पनि आफ्नो बजेट त्यसमा लगाएको छ । त्यस्तै हल्दिबारीमा शहादत प्राप्त गर्ने शहीदहरुको सालिक बनाउने र चिल्ड्रेन पार्क निर्माण गर्ने योजना पनि छ । भेलागुडी सिमसार क्षेत्र हल्दिबारीको लागि मात्र नभएर पूर्वकै पर्यटकीय क्षेत्र बन्न लागेको छ । त्यहाँ दैनिक ५ देखि ७ सयसम्म पर्यटक घुम्न आउने गरेको भेलागुडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद लुईटेल बताउँछन् । सिमसार १९ हेक्टरमा फैलिएको छ । त्यसमध्ये ३ विगाहमा पोखरी छ । वन समितिले डिपीआर बनाएर सिमसार क्षेत्रको विकास गर्दै आएको छ । कतिपय विकासका काम वन समिति आफैले पनि गरेको छ । समितिले गत वर्ष महोत्सव लगाएको थियो । जसबाट १२ लाख रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि महोत्सव लगाउने कार्यक्रम राखिएकोमा कोरोना महामारीका कारण प्रभावित भएको अध्यक्ष लुईटेलले बताए । त्यस्तै पोखरीमा गरिएको माछापालनबाट पनि वर्षेनि ५ लाख जति आम्दानी आउने गरेको वन समितिले जनाएको छ ।
लक्ष्मी माविलाई आम्दानीको स्रोत, एक करोडमा व्यावसायिक भवन
तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत लक्ष्मी मावि हल्दिबारी ३ मा बहुउद्येश्यीय भवन निर्माण गरिएको छ ।

तराई मधेस समृद्धि कार्यक्रमको ८९ लाख र थप गाउँपालिकाको बजेटबाट सो भवन बनाइएको हो । व्यावसायिक प्रयोजनका लागि बनाइएको त्यस भवनमा १८ वटा सटर रहेका छन् । त्यस भवनमा भखैरै जीम हाउस संचालनमा आएको छ । विद्यालयको कम्पाउन्डको रुपमा काम गर्ने गरी सो भवन बनाइएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले बताए । उनले त्यस भवनमा कृषि बजार विस्तार गर्ने योजना रहेको सुनाए ।
विपन्न परिवारलाई चिटिक्क घर
हल्दिबारीमा गाउँपालिका उपाध्यक्ष गिरीको पहलमा निर्माण गरिएको महत्वपूर्ण योजना हो विपन्न आवास कार्यक्रम । ५९ लाखको बजेटमा राष्ट्रिय एकता प्राविको जग्गामा विपन्नका लागि १३ वटा घर निर्माण गरिएका छन् ।

प्रत्येक पक्की घरमा दुईवटा कोठा र एउटा भान्सा रहेको छ । सबैका लागि एउटै सार्वजनिक शौचालय निर्माण गरिएको छ । गाउँपालिकाभित्रका भूमिहीन सुकुम्बासीहरुलाई ती घर हस्तान्तरण गर्ने योजना छ । दशै तिहारपछि ती घर हस्तान्तरण गर्ने योजना रहेको प्रवक्ता पोर्तेलले बताए । गत वर्ष पनि गाउँपालिकाले सहारा नेपालसँगको सहकार्यमा विपन्न परिवारलाई ३३ वटा घर निर्माण गरिदिएको थियो ।

अब गाउँपालिका कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा
अहिले भाडाको घरमा रहेको हल्दिबारी गाउँपालिका कार्यालय अब छिट्टै आफ्नै भवनमा सर्ने भएको छ । १ विगाह १२ कठ्ठा जग्गामा ३ करोड ९० लाख ७९ हजार रुपैयाँमा गाउँपालिकाको भवन निर्माण सम्पन्न हुन लागेको हो ।

गाउँपालिकाको बहुवर्षिय योजनाअन्तर्गत कार्यालय भवन निर्माण भइरहेको हो । भवनको लागि ५ करोड ५१ लाख रुपैयाँको इस्टिमेट गरिएको थियो । २०७६ जेठ १ गते किरातेश्वर कन्स्ट्रक्सनले संझौता गरेर काम थालेको सो योजना आगामी चैत अन्तिममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । त्यहाँ ८ वटा भवन निर्माण भइरहेका छन् । गाउँपालिका अध्यक्ष , उपाध्यक्षको अलग अलग भवनसँगै प्रमुख प्रशासकीय अधिकृत , शाखा कार्यालय , अतिथि गृह, सभाहललगायतका भवन रहेका छन् ।त्यस्तै हल्दिबारीमा करीव दुई करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदैछ । जसबाट जलथल , हल्दिबारी र गोलधापका उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यसबाहेकका साना योजनाहरु पनि निर्माणाधिन छन् । जसको लागि उपाध्यक्ष गिरीले पहल गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्