दमक, मंसिर २ । झापाको कमल गाउँपालिका वडा नम्बर ५ स्थित गुहेश्वरी युवा परिवारले गाउँमा सडक बत्ती जडान गरेको छ ।

रातिको समयमा गाउँघरमा चोरी,लुटपाट जस्ता आपराधिक गतिविधि हुन सक्ने भन्दै गुहेश्वरी युवा परिवारको अगुवाईमा त्यहाँको आइतवारे बजारदेखि गुहेश्वरी स्कुलको खेल मैदानसम्मको सडकमा बत्ती जडान गरिएको हो ।
सडकको करिव एक किलोमिटर क्षेत्रमा सडकबत्ती जडान गरिएको परिवारका उपाध्यक्ष नविन भट्टराईले बताए ।

‘उज्यालो सडक,अपराधरहित समाज’ भन्ने अभियान सञ्चालन गरी गाउँमा सडकबत्ती राख्ने कार्य सम्पन्न गरिएको युवा परिवारका सचिव अभिसेक घिमिरेले बताए । उनका अनुसार सडक बत्ती जडान गर्न संस्थागत रुपमा युवाहरुले देउसी भैलो खेलेर ९८ हजार ९ सय ५१ रुपैयाँ संकलन गरेका थिए । त्यसमध्ये ९३ हजार ४ सय ८५ रुपैयाँको लगानीमा सडक बत्ती जडान गरिएको सदस्य सौगात बस्नेतले जानकारी दिए । युवा परिवारले टुक्रेसम्मको सडकमा पोलैपिच्छे सडक बत्ती जोड्ने र पछि केही भए त्यसको मर्मत पनि संस्थाले व्यहोर्ने गरी आबश्यक तयारी समेत गरिएको उनले बताए ।

पाँच वर्षअघि आइतवारे बजार उत्तरका युवाहरुले सामाजिक कार्य गर्ने उद्देश्यले सो युवा परिवार स्थापना गरेका हुन् । त्यस संस्थाले गाउँघरमा सरसफाई, विभिन्न पूजाआजा, टोलका बासिन्दालाई भाडावर्तन, त्रि पाल उपलव्ध गराउँदै आएको छ ।
युवा परिवारले आज एक कार्यक्रम गरी सडकबत्ती जडान कार्यको आयव्यय समेत सार्वजनिक गरेको छ । हिसाव सार्वजनिक कार्यक्रममा युवा परिवारका सल्लाहकार संयोजक एलवी विष्ट,संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । त्यस संस्थामा त्यस टोलका १ सय बढी युवाहरु आवद्ध छन् ।

१ प्रतिक्रिया

  1. धरै धरै धन्यवाद सबै साथी हरुलाइ यस्तै गर्दै जानू

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्