बिर्तामोड , मंसिर ३ । लापरवाही तरिकाले सवारी चलाउँदा बिर्तामोड ६ मा आज भयानक दुर्घटना भएको छ । बिर्तामोड ६ गिरी मन्दिरस्थित पूर्व पश्चिम राजमार्गमा भएको सो दर्दनाक दुर्घटनामा परी दुईृ जनाको मृत्यु हुनुका साथै दुई जना गंभीर घाइते भएका छन् ।

बिहान ११.२५ बजेतिर पूर्वतर्फ जादै गरेको मे २ प ४८४७ नं मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ३१०२०४२उब७९८२ नं स्थायी नं पाएर नम्बर प्लेट नलगाएको अनटेष्ट मोटरसाइकल एकापसमा जुधेर सडकमा लड्दा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३३५० नं को ट्रकले किचेको थियो । त्यस लगत्तै त्यसको पछाडि रहेको को १ च ९३१७ नं को स्कोरपियोले पनि किच्दा मे २ प ४८४७ नं को मोटरसाइकलका चालक बुद्धशान्ति ३ का २४ वर्षिय कुशल लिम्बु र पछाडि सवार सोही ठाउँका वर्ष ११ का दिप्सन कँडेलको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव विभत्स अबस्थामा फेला परेको थियो । त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार दिप्सनकी आमा बुद्धशान्ति ३ की ३९ वर्षिया सावित्रा घिमिरे कँडेल र अनटेष्ट मोटरसाइकलका चालक अर्जुनधारा ११ का २२ वर्षिय गगन तामाङ सख्त घाइते भएका छन् । घाइतेहरुलाई बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना गरिएको छ । ट्रकले किचेपछि फेरि किचेको को १ च ९३१७ नं को स्कोरपियो पेलेर भागेको थियो । किचेर भाग्ने स्कोरपियो र त्यसका चालक सुनसरी धरान १७ का ५० वर्षिय देवराज लिम्बुलाई बुधबारेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै ट्रक र ट्रक चालक भद्रपुर ८ बस्ने ३३ वर्षिय राजु श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छोरा दिलप्सनको आँखामा समस्या आएपछि बुधबारे बजारको धर्मकाँटा नजिक घर भएकी सावित्रा छिमेकी कुशलको सहयोगमा मोटरसाइकलमा बिर्तामोड आएर आँखा जचाई घरतर्फ फर्किदै गरेका थिए । सोही बेला उनीहरु दुर्घटनामा परेको बुद्धशान्ति वडा नं ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेतीले बताए ।उनले घटनाप्रति दुख ब्यक्त गरेका छन् । आफूहरु कोरोना संक्रमणबाट मृत्यु भएका बुद्धशान्ति ३ का कोरोना संक्रमितको अन्त्येष्टि गरिरहेका बेला आफ्नै वडाका आमाछोरा दुर्घटनामा परेको सुन्दा अत्यन्तै दुख लागेको वडाध्यक्ष उप्रेतीले बताए । मे २ प ४८४७ नं को मोटरसाइकललाई तीनवटा सवारी साधनले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिला अर्को मोटरसाइकलसँग जुधेर लडेको त्यस मोटरसाइकललाई ट्रक र स्कोरपियोले एकपछि अर्को गर्दै ठक्कर दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्