झापा, मंसिर ४ । झापाको आठौं स्थानीय तह र चौथो नगरपालिकाको रुपमा बिर्तामोड नगरपालिका दुई वर्षअघि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरियो । त्यसको चार महिनापछि सिंगो झापा जिल्लासमेत घोषणा भयो । तर, बिर्तामोडमा शौचालयको समस्या अझै बाँकी छ । अझै धेरै परिवार शौचालयविहीन छन् ।

बिर्तामोड १० स्थित मुसहर वस्तीमा शौचालयको अबस्था

बिर्तामोड नगरपालिकालाई २०७५ भदौ ८ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । त्यसपछि सोही वर्षको पौष १३ गते सिंगो झापा जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गरियो । खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको दुई वर्षपछि गरिएको सर्वेक्षणले बिर्तामोडका अझै धेरै परिवार शौचालयविहीन अबस्थामा रहेको देखाएको छ । केही महिनाअघि विश्व सरसफाई कोषको आर्थिक सहयोगमा युएन ह्याबिट्याट नेपालको प्राविधिक सहयोग र विराट सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा बिर्तामोडको ६ वटा वडामा पूर्ण सरसफाई कार्यक्रम गरिएको थियो । कार्यक्रमका क्रममा गरिएको सर्वेक्षणले बिर्तामोडका ती ६ वटा वडामा १३७५ परिवार शौचालयविहीन भएको देखाएको थियो । सिंगल पिटको शौचालय भएका , धेरै परिवार एउटै शौचालयमा जाने गरेका , कतिपयले अझै बाहिरै दिसापिसाब गर्ने गरेको समस्या पाइएको विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम अधिकृत अर्जुन पाठकले बताए । उनले कार्यक्रमका दौरानमा आफूहरुले तोकेको मापदण्ड अनुसारका शौचालय प्रयोग नगरिरहेको पाइएको जानकारी दिए । ‘सिंगल पिट भएका , धेरै परिवारले एउटै शौचालय प्रयोग गरेका र असुरक्षित शौचालयहरुलाई हामीले शौचालयविहीन भनेका छौं’ उनले भने ,‘ बिर्तामोडमा सरसफाईको समस्या अझै देखिन्छ ।’ ती ६ वटा वडामा शौचालयविहीन अबस्थाका १३७५ परिवारमध्ये १३०० परिवारलाई आफूहरुले डबल पिटको शौचालय निर्माण गरिदिएको र ७५ परिवार भने अझै समस्यामा रहेको कार्यक्रम अधिकृत पाठकले बताए । सन् २०१९ को जून १९ देखि शुरु भएर २०२० को जून १८ सम्म चलेको पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत बिर्तामोडका ती ६ वटा वडामा नमूना टोल निर्माण गरिएको छ ।
आधाररेखा सर्वेक्षण गरी बिर्तामोडलाई दुई वर्ष अघि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । सर्वेक्षण अनुसार १७ हजार ८ सय ९४ घरधुरी रहेको बिर्तामोड नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा वडा नं. १ देखि ६ सम्म (साविक बिर्तामोडमा) मानव विकास केन्द्र र वडा नं. ७ देखि १० सम्म (साविक गरामनी) सहारा नेपालले खुल्ला दिसामुक्त अभियानको सहजीकरण गरेका थिए । साविक बिर्तामोडमा १ हजार १ सय ६५ घरधुरीमा नयाँ सुरक्षित शौचालय निर्माण गर्नुका साथै साविक गरामनीमा १ हजार ७ सय ११ नयाँ घरायसी शौचालय निर्माण भएका थिए ।
त्यस्तै सर्वेक्षणको क्रममा १ लाख ८२ हजार २ सय १५ घरधुरीमध्ये सबै घरधुरीमा चर्पी बनाएर प्रयोगमा आएपछि झापालाई खुला दिसामुक्त घोषणा गरिएको थियोे ।
सार्वजनिक शौचालयको समस्या
खुल्ला दिसामुक्त क्षेत्र बिर्तामोडमा सार्वजनिक शौचालयको ठूलो समस्या रहेको छ । करिव दुई दशकअघि अन्धुवा खोलाको छेउमा रहेको सार्वजनिक शौचालय भत्काएपछि बिर्तामोडमा फेरि सार्वजनिक शौचालय बन्न सकेको छैन । बिर्तामोडमा राखिएको घुम्ती शौचालय खासै प्रयोगमा आउन सकेन । बिर्तामोड उद्योग वाणिज्य संघले सो घुम्ती शौचालय बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरेको थियो । बिर्तामोड नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा आफूहरुले रकम संकलन गरेर निर्माण गरेको घुम्ती शौचालय खेर गएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । उनले जनसँख्या तीब्र रुपमा बढ्दै गएको बिर्तामोडमा बाहिरबाट आउने मानिसहरुका लागि सार्वजनिक शौचालय अति जरुरी भएको बताए । उनले भने ,‘ त्यसका लागि बिर्तामोड नगरपालिकाले पायक पर्ने ठाउँमा शौचालय निर्माण गर्नु पर्छ ।’ सार्वजनिक शौचालय नहुँदा बाहिरबाट आउनेहरुले अन्धुवा खोलाको पुलमुनि दिसापिसाव गर्ने गरेका छन् ।
दुर्गन्धित अन्धुवा खोला
खुल्ला दिसामुक्त क्षेत्र घोषणाका क्रममा अन्धुवा खोलाको बगरमा बनाइएका ४८ वटा शौचालय भत्काइएका थिए । शौचालयका मलमुत्र खोलामा बग्ने गरी ती शौचालय बनाइएका थिए । तर, अझै पनि धेरैजनाले अन्धुवा खोलामा मलमुत्र बगाइरहेका छन् । दुई वर्षअघि भत्काइएका खोला बगरका शौचालयहरुलाई पुनर्निर्माण गरी फेरि खोलामै बगाउन थालिएको छ भने कतिपयले नयाँ शौचालय त्यसरी नै निर्माण गरेका छन् । जसको नगरपालिकाले अनुगमन गर्न सकिरहेको छैन । आफ्नो टोलमा अन्धुवा खोलामा त्यसरी निर्माण गरिएका शौचालयका बारेमा नगरपालिकालाई भन्दा सुनुवाई नभएको कार्यक्रम अधिकृत पाठकले बताए । अन्धुवा खोला डम्पिङ साइटको रुपमा दुर्गन्धित बन्दै गर्दा त्यसतर्फ कसैको पनि ध्यान जान सकिरहेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्