गौरीगञ्ज , मंसिर ५ । कोरोना भाइरसको संक्रमणका कारण महामारी फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष घर–आँगनमा कुण्ड बनाई पूजाआजा गर्न अनुरोध गरेपनि गौरीगञ्जमा सामुहिक पूजाको आयोजना गरिएको छ ।

तस्वीर मनिषा चम्लागाईँ

खोला, ताल पोखरी, नदीमा गई स्नान गर्दा संक्रमण फैलिन सक्ने भएको हुँदा जलाशयमा पण्डाल बनाई पूजाआजा गर्ने कार्य नगर्न भन्दै प्रशासनले सूचना जारी गरेको थियो । तर, त्यसलाई अवज्ञा गर्दै गौरीगञ्जमा सामूहिक छठ पूजाको आयोजना गरिएको छ । जिल्लाका मेची, निन्दा, हडिया, बिरीङ, देउनियाँ, कमल, कनकाई, अधुवा, माई , रतुवा लगायतका नदी तथा खोलाहरू सुनसान देखिएपनि गौरीगञ्ज बजार छेउको गेउरिया खोला सजिसजाउ गरिएको छ । त्यहाँ ५० भन्दा बढी घाट निर्माण गरिएका छन् । अघिल्ला वर्षहरूझैं गेउरिया खोलामा सामूहिक छठ पूजा आयोजना गरिएको हो । गौरीगञ्ज बजारमा मैथिली समुदायको बढी बसोबास रहेको छ । अन्य जातिले दशै तिहार पर्व मान्न हुने , टीका लगाउन जान हुने तर आफूहरुले सामूहिक छठ पूजा किन गर्न नहुने उनीहरुको प्रश्न छ । वर्षमा एक पटक आउने पर्व भएकाले कोरोना कहरका बीच पनि सामाजिक दुरी कायम गरेर पर्व मनाउने तयारी गरिएको स्थानीय आसिश यादव बताउँछन् । धार्मिक आस्थासँग जोडिएकाले स्थानीय तह र प्रहरी प्रशासनले पनि कुनै अवरोध नगरेको बुझिएको छ ।
नदी तथा खोलाको किनारबाटै अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अघ्र्य दिने धार्मिक परम्परा रहेको छ । अन्य पालिकामा भने संक्रमणका कारण ब्रतालु परिवारजनले घर आँगनमै खाल्डो तथा कुण्ठ बनाएर छठ पूजा मनाउने तयारीमा जुटेका छन् । नदी तथा खोलाहरूमा सामूहिक रुपमा छठ नमनाउन छठ पूजा समितिका अध्यक्षहरू र पालिकाहरूसँग छलफल गरेर यसबर्ष घरमै छठ मनाउन सबैमा अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले बताए । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज हो। अस्ताउँदो सूर्यलाई आज साँझ अघ्र्य दिइन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्