बिर्तामोड, मंसिर ५ । कोरोना महामारीका कारण यस वर्ष विरीङ नदीमा सामुहिक पूजा नभएपछि बिर्तामोडका कतिपय ब्रतालुहरुले अधुवा खोलाको फोहोरमै छठ पूजा गर्दैछन् ।

बिर्तामोड अधुवा पूल दक्षिण फोहोरमा पूजा गर्न बाध्य ब्रतालु

धेरै ब्रतालुहरुले घरआँगनमा कुन्ड निर्माण गरेर छठ पूजा गरिरहेका छन् । तर ,कुन्ड बनाउनका लागि ठाउँ नहुनेहरु दुर्गन्धित अधुवा खोलामा गएर पूजा गर्न बाध्य छन् । बिर्तामोड ३ बिर्ताबजारका धेरै ब्रतालुहरुले फोहोर अधुवा खोलामै पूजाको लागि घाट बनाएका छन् । त्यहाँ २० भन्दा बढी घाट निर्माण गरिएको हो । त्यस्तै सैनिकमोड दक्षिण विराटपोखर जाने अन्धुवा पुलको छेउमा पनि त्यसरी नै ब्रतालुहरुले अव्यवस्थित रुपमा फोहोरमै छठ पूजा गरिरहेका छन् । त्यहाँ करिव १६ वटा घाट बनाइएका छन् । अन्धुवा खोला दुर्गन्धित बनेपछि बिर्तामोडका ब्रतालुहरु सामूहिक पूजाका लागि बिरीङ नदी गएका हुन् । विगत ७ वर्षदेखि बिर्तामोडबासीहरुले बिरीङमै सामूहिक छठ पूजा गर्दै आएका थिए । यस वर्ष कोरोना महामारीका कारण प्रहरी प्रशासनले अनुरोध गरेपछि बिरीङ नदीमा सामूहिक छठ पूजा स्थगित गरिएको हो । वर्षौदेखि अन्धुवा खोलामा छठ पूजा गर्दै आएकोमा फोहोरमैला र साँघुरो ठाउँका कारण आफूहरुले टाढाको बिरीङ नदी जानु परेको बाध्यता भएको छठ समाज बिर्तामोडका पूर्व अध्यक्ष घनश्याम चौधरीले बताए । उनले घर नजिकको अन्धुवा खोला छोडेर आफूहरुलाई बिरीङ नदीमा जाने रहर नभएको स्पष्ट पारे ।

बिर्ताबजारमा पूजाका लागि अन्धुवा खोला सफा गर्दै

खोई अन्धुवा करिडोर ?
बिर्तामोडको अन्धुवा खोलालाई धेरैले धेरै पटक चुनावी मुद्धा बनाएका छन् । अन्धुवा खोलामा ठूलठूला योजना ल्याउने कुरा आश्वासनमा मात्र सीमित भए । चुनाव जित्नु भन्दा अगाडि र चुनाव जितेपछि बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीले पनि अन्धुवा खोलाको लागि करिडोर निर्माण गर्ने धेरै ठाउँमा भाषण गरेका थिए । उनले अहिले त्यसबारे बोल्न छोडेका छन् । त्यस्तै स्थानीय तह गठनपूर्व तत्कालीन माओवादीका नगर इन्चार्ज कुवेर श्रेष्ठको संयोजकत्वमा अन्धुवा खोला करिडोर निर्माण पहल समिति गठन भएको थियो । त्यस समितिले करिव १ करोडको योजना सार्वजनिक गर्दै डिपीआर निर्माण गर्न १० लाख रुपैयाँ खर्च गरेको थियो । तर, करिव चार वर्ष बित्न लाग्दा पनि अन्धुवा खोलामा कुनै योजना ल्याइएको छैन । बिर्तामोड नगरपालिकाको करिव पाँच किलोमिटर क्षेत्र भएर अन्धुवा खोला बग्ने गरेको छ । ‘हामीले अन्धुवा खोलाको लागि करिडोर निर्माण गर्न अभियान नै शुरु गरेका थियौं’ श्रेष्ठले भने , ‘ जनप्रतिनिधि आएपछि ठाडो कान लगाएनन्, अनि छोड्नु पर्यो ।’ उनले आफ्नै पहलमा विश्व बैंकलाई करिव २ अर्बको योजना प्रस्ताव पेस गरिएको जानकारी दिए । विश्व बैंकले देशका १७ वटा शहरहरुमा शहरी विकास मन्त्रालयमार्फत लागत अनुदानमा ढल निकासको कार्यक्रम गर्दैछ । त्यसमा बिर्तामोड पनि परेको र डिपिआर निर्माणपछि केही महिनाभित्रै करिडोर निर्माणको काम शुरु हुने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्