झापा , मंसिर ५ । झापाको गौरादहमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बृद्ध र बृद्धा छन् ।

गौरादह नगरपालिका ८ का ७२ वर्षिय शेषलाल राजवंशीको आज बिहान ९ बजेतिर नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आएपछि उनलाई मंसिर ३ गते विराटनगर लगिएको थियो । ती बृद्धको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । मृतकको लाशलाई विराटनगरबाट ल्याएर गौरादह ८ स्थित गेउरिया खोलामा अन्त्येष्टि गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । गौरादकै अर्का बृद्धाको पनि हिजो बेलुका नोवेल हस्पिटलमा मृत्यु भएको छ । गौरादह ७ की ७८ वर्षिया विन्दा राईको मृत्यु भएको हो । मृत्यु हुनुभन्दा अगाडि उनको पिसिआर परीक्षण गरिएकोमा आज दिउँसो रिपोर्ट पोजिटिभ आएको हो । गौरादह स्थायी ठेगाना भएपनि त िबृद्धा कमल ५ मा बस्दै आएकी थिइन् । उनको कमल ५ मै नेपाली सेनाले गाढेर अन्त्येष्टि गरेको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका इन्द्र अर्यालले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या गौरादहमा १२ र जिल्लामा ९३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्