झापा , मंसिर ७ । झापामा कोरोना संक्रमणबाट दैनिक २ देखि ३ जनाको दरले औषत मृत्यु हुने गरेको छ ।

हिजो शनिबार तीन जनाको मृत्यु भयो भने त्यसको अघिल्लो दिन शुक्रबार दुई जनाको मृत्यु भएको थियो । त्यस्तै बिहीबार कोरोना संक्रमणबाट तीन मृतक थपिएका थिए । जिल्लामा तीन जनाको मृत्यु भएको रिपोर्ट आज प्राप्त भएको छ । मेचीनगर नगरपालिकाका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा नगरपालिकाका कार्यालय सहयोगी ४७ वर्षिय गणेश खड्का रहेका छन् । मेचीनगर ४ निवासी नगरपालिकाका स्थायी कर्मचारी खड्काको गएराति धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।उनलाई मंसिर ४ गते संक्रमण पुष्टि भएको थियो । कर्मचारीको मृत्यु भएपछि नगरपालिका कार्यालय आज विदा दिइएको थियो । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ । त्यस्तै शिवसताक्षीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ८ की ७७ वर्षिया चन्द्रमाया सेन्चुरी रहेकी छन् । उनको गएराति ८ बजे घरमै मृत्यु भएको हो । विरामी भएर बिर्तामोडको बिएण्डसी हस्पिटल ल्याइएकी ती बृद्धाको हिजो पिसिआर परीक्षण गरिएको थियो । उनलाई डिस्चार्ज गरी हिजै घर लगिएको थियो । राति उनको रिपोर्ट पोजिटिभ आएको र राति नै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका रोशन भट्टराईले बताए । कनकाई माईमा नेपाली सेनाको सहयोगमा मृतकको लाशलाई अन्तयेष्टि गरिएको उनले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या शिवसताक्षीमा ६ पुगेको छ । त्यस्तै कनकाई नगरपालिकामा एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कनकाई ३ का ७४ वर्षिय नरबहादुर गिरीको मंसिर ३ गते राति धरानमा मृत्यु भएको थियो । मृतकको लाशलाई मंसिर ४ गते आफन्तहरुले कन्काई माईमा अन्त्येष्टि गरेका थिए । कात्तिक २८ गते नै ती बृद्धालाई संक्रमण पुष्टि भएकोमा उनको मृत्युको बारेमा आज मात्र नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । धरानबाट मृत्यु सर्टिफिकेट आउन ढिला भएको नगरपालिकाका स्वास्थ्य शाखाका नारायण अधिकारीले बताए ।योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या कनकाईमा ६ र जिल्लामा ९७ पुगेको छ । मृतकमध्ये २३ जनाको अन्त्येष्टि आफन्तले गरेका छन् भने ७४ जनाको अन्त्येष्टि सेनाले गरेको चारआलीस्थित नयाँ श्रीनाथ गणले जनाएको छ ।
झापामा थप ४९ जनामा संक्रमण पुष्टि
झापामा पछिल्लो २४ घण्टाभित्र ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ महिला र ३३ जना पुरुष रहेका छन् ।सबैभन्दा बढी दमक नगरपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३ महिला र ८ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै, भद्रपुरका ३ महिला र ६ पुरुष गरी ९ जना संक्रमित भएका छन् । कमल गाउँपालिकाका ३ महिला र ४ पुरुष, अर्जुनधाराका २ महिला र २ पुरुष, शिवसताक्षीका २ महिला र ४ पुरुष, मेचीनगरका १ महिला र ३ पुरुष, गौरादहका २ जना पुरुष, बिर्तामोडका १ महिला र २ पुरुष, कनकाई र बाह्रदशीका १–१ जना पुरुष तथा गौरीगञ्जकी एक महिलामा आज संक्रमण पुष्टि भएको हो ।यो सँगै झापा जिल्लामा कुल संक्रमितको संख्या ३ हजार २७१ पुगेको छ । कोरोनालाई जितेर घर फर्किनेको संख्या भने २ हजार २६० रहेको छ । त्यस्तै, सक्रिय संक्रमित भई विभिन्न आइसोलेसनमा ९१७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्