मेचीनगर, मंसिर ७ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर–७ स्थित सिदार्थ टोलबाट लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।

आज दिउँसो ४ बजेतिर सिदार्थ टोलका आसान्ति राजबंशीको घरमा डेरा गरी बस्ने सिताराम आङदेम्बे र उनकी श्रीमती मनिता आङदेम्बेले धरान ५ बस्ने २४ वर्षिय कल्याण राई र वडा नं १६ का २४ वर्षिय रिजन लकान्द्रीलाई लागुऔषध ब्राउन सुगर बेच्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । आङदेम्बेको साथबाट १३ ग्राम ब्राउन सुगर, १ लाख ३३ हजार नगद र मोवाइल ३ थान तथा खरिद गर्ने राई र लकान्द्रीबाट १५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ ।
ब्राउन सुगर विक्री गर्दै गरेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट गएको प्रहरी टोलीले खानतलाशी गर्दैगर्दा घर अगाडीबाट को ३५ प ७०१६ नं. को मोटरसाईकल चढी भाग्न लागेको शंकास्पद अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इप्रका काँकरभिट्टामा राखिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्