मनिषा चम्लागाईँ
गौरीगञ्ज मंसीर, ८ । पछिल्लो समय अधिकांश युवाको रोजाइमा शहर पर्छ । गाउँ छाडेर शहर पस्ने युवाको संख्या बढेसँगै गाउँघरका खेतबारी बाँझो हुनु सामान्य नै भइसकेको छ । यति हुँदाहुँदै पनि धेरै जनसंख्या कृषिमै निर्भर छ ।

मोफसलमा रहेका युवाहरु केही व्यवसाय गर्नुपरे राजधानी रोज्छन् । तर, झापाको ग्रामीण भेगमा अवस्थित गौरीगञ्ज गाउँपालिकामा ४ युवाले व्यवसायीक माछा पालन शुरु गरेका छन् । स्थायी घर काठमाडौँ रहेका उनीहरुले मोफसलमा अवसर देखेर व्यवसाय शुरु गरेको बताउँछन् । काठमाडौँका सागर न्यौपाने, सर्वकल्याण कणेल, फडिन्द्र पाण्डे, धर्मप्रसाद पन्तले व्यवसाय शुरु गरेको हुन् । ६ वर्ष अघि नेचुरल फिस एण्ड मिट सेन्टर सञ्चालनमा ल्याएका उनीहरुले पंघास र कार्प जातका माछा लगाएका छन् ।


गौरीगञ्ज गाउँपालिका –३मा १५ विगाहमा २७ वटा पोखरी निर्माण गरी व्यवसाय शुरु गरेपनि उत्पादित माछाले बजार पाउन नसकेको सञ्चालक न्यौपानेले बताए । माछा बिक्रीका लागि झापा, मोरङ र सुनासरीका बजार पु¥याउने गरेको न्यौपाने बताउँछन् । बजारमा विषादी हालेको भारतीय माछा न्यून मूल्यमा खुलेआम बिक्री हुने गरेकाले पनि माछाले बजार अभाव झेल्नु पर्ने न्यौपानेको भनाई छ ।


कोरोना महामारी शुरु भएसँगै माछा पालक कृषकले भुरा अभावसमेत झेल्नु परेको न्यौपानेको भनाई छ । “हामीलाई वार्षिक १२ लाख भुरा आवश्यक पर्छ” न्यौपानेले भने, “कोरोना कहरले गत वर्षको चैत यता ३ लाख मात्र भुरा उपलब्ध भयो ।” भुरा नभएकै कारण २७ वटा पोखरीमध्ये ७ वटा मात्र पोखरीमा माछा हालेको न्यौपानेले सुनाए । “नेपालमा भुरा आयातले वैधानिक पाएको छैन” न्यौपाने भन्छन्, “लकडाउन शुरु भएपछि भने व्यापारीले भुरा आयात नगर्दा त्यसको प्रत्यक्ष मार कृषकलाई परेको छ ।” व्यापारीले भारतबाट भुरा ल्याउने र आफूहरुले व्यापारीबाट किन्ने गरेको उनी बताउँछन् । पोखरी निर्माण विस्तार गरी व्यवसाय बढाउने योजना बनाए पनि बजार र भुरा अभावले तत्कालाई स्थगित गरिएको छ ।


जिल्लामा माछाको भुरा उपलब्ध नहुँदा भारतबाट भुरा ल्याउनु पर्ने अवस्था छ । अधिकांश किसानले भारतबाट माछाको भुरा ल्याउने गरेको मत्स्य विकास अधिकृत प्रदीपकुमार श्रेष्ठले बताए । नेपालकै लाहान, सिराहा, सप्तरीका रहेका ह्याचारीबाट केही कृषकले भुरा ल्याएर हालेको उनी बताउँछन् । नेपालमा भुरा पर्याप्त नहुनु र नेपाली भन्दा भारतीय भुरा सस्तो मूल्यमा पाइने भएकाले कृषकहरु भारतबाट माछा ल्याउने गरेको श्रेष्ठले बताए । “भुरा नभएकै कारण जिल्लाका पोखरी खाली हुँदै गएका छन्, झापाको भद्रपुरमा ह्याचरी खुल्न लागेको छ” श्रेष्ठले भने, “त्यसबाट झापाका किसानलाई सहयोग पुग्छ ।”


लकडाउनका कारण माछाको लागि आवश्यक दानासमेत सहज रुपमा उपलब्ध नहँुदा नेचुरल फिस एण्ड मिट सेन्टर सञ्चालक मर्कामा छन् । “नेपालमा गुणस्तरीय दाना पाइदैँन, भारतबाट ल्याउँदा पछिल्लो समय दानामा भएको मूल्य वृद्धि झन्झटिलो आयात प्रक्रिया समस्या थपेको छ” न्यौपानेले सुनाए । सबै पोखरीमा भुरा हाल्दा प्रतिदिन न्यूनतम १ टनसम्म दाना आवश्यक पर्ने न्यौपानेले बताए । झापामा कार्प जातका रहँु, नैनी, भाकुर, कमनकार्प, सिल्भरकार्प, बिगहेड, ग्रासकार्पसँगै पंघास, तिलापिया जातका माछा पाल्ने गरिएको छ । झापामा ३ सय ७ हेक्टर जलाशय क्षेत्रमा माछापालन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्