दमक,मंसिर ८ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज झापाको दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित योजनाहरुको अनुगमन गरेका छन् ।

मन्त्रालयका अधिकारीसहित आएका उनले दमकको निर्माणाधिन दमक भ्यूटावर, दमक सभागृह , दमक बसपार्क र आजै गौरादह र गौरीगञ्जमा समेत मन्त्रालय अन्तर्गतका चालु तथा सम्पन्न भएका योजनाहरुको स्थलगत जानकारी लिएका हुन् ।
यसैक्रममा उनले अपरान्ह दमक ३ स्थित निर्माणाधिन भ्यूटावर निर्माणको अवस्थाबारे जानकारी लिएको वडाध्यक्ष नवीन बरालले वताए ।
स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले दमक भ्यूटावर लगानी र महत्वका हिसाबले पनि देशकै पहिलो भ्यूटावर भएको दावी गरे ।
मन्त्री श्रेष्ठसंगै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, मन्त्रालय र सम्बन्धित विभागका उच्च अधिकारीहरु संलग्न थिए ।
मन्त्री श्रेष्ठसहितको सो टोलीलाई दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनासहित स्थानीयहरुले फूलमालाले स्वागत गरेका थिए ।
नगरपालिकाका अनुसार राष्ट्रिय महत्व तथा बहुवर्षीय योजनामा रहेको सो व्यावसायिक भ्यू टावरको करिब ३० प्रतिशत काम पूरा भएको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकारले सोका लागि ४० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । त्यहाँ डेढ अर्बभन्दा बढीको सरकारी लगानी रहनेछ ।
भ्यूटावर निर्माणको जिम्मा चिनिया कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ओमसाई जेभीले लिएको छ । भ्यूटावर निर्माणका लागि स्थानीयले ५ विगाह जग्गा निशुल्क रुपमा उपलव्ध गराएका थिए ।
२५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने जनाईएको छ । यो भ्यूटावर निर्माणपछि त्यहाँ विदेशी पर्यटकहरु समेत भित्रिने भएकाले दमक र समग्र देशकै पर्यटन तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको नगर उपप्रमुख अधिकारीले बताईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्