झापा , मंसिर ९ । आजदेखि शुरु कक्षा १२ को परीक्षामा झापाका १५ हजार ८८ जना परीक्षार्थी सहभागी भएका छन् ।

महेन्द्र रत्न मावि अनारमनीमा सहभागी परीक्षार्थीहरु

परीक्षामा नियमिततर्फ ११ हजार ८८४ र आंशिकतर्फ ३ हजार २०४ जना परीक्षार्थी सहभागी भएको परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरका कम्प्युटर सहायक गोपिकृष्ण आचार्यले बताए । झापामा १ सय २८ वटा परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै मेची र कोशीमा नियमिततर्फ ४३ हजार २९९ र आंशिकतर्फ १६ हजार ६९७ गरी ५९ हजार ९९६ जना परीक्षामा सहभागी भएको उनले जानकारी दिए । ती दुई अंचलमा ५६८ वटा परीक्षा केन्द्र छन् । देशभर झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका छन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको थियो । झापामा कति विद्यार्थी परीक्षामा सहभागी भए भन्ने तथ्याँक आफूहरुसँग नभएको शिक्षा समन्वय इकाईका प्रमुख राजकुमार विकले बताए । उनले कक्षा ११ र १२ को परीक्षाका लागि सम्बन्धित पालिकाले अनुमति दिएको र विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डसँग समन्वय गरेकाले आफूहरुलाई थाहा नभएको जानकारी दिए । त्यस्तै राष्ट्रिय परिक्षा बोर्डले आफूहरुसँग पनि समन्वय नगरेको जिल्ला शिक्षा समन्वय समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले परीक्षा केन्द्रहरुमा सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै परीक्षा गरिएको छ । परीक्षार्थीहरुको शरीरको तापक्रम नापेर साबुनपानीले हात धुन लगाइ अनिवार्य मास्कसहित भौतिक दुरी कायम गराइ परीक्षामा सहभागी गराइएको छ । त्यस्तै प्रत्येक परीक्षा केन्द्रमा हेल्प डेक्स राखिएको प्रजिअ तिमिल्सिनाले बताए ।

कोरोना संक्रमणका कारण परीक्षा गराउन नसक्ने चुनौतीका बीच पहिलो दिनको परीक्षा सफल रुपमा सम्पन्न गरिएको परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डम्बर बतासले बताए । उनले अनलाइनमार्फत प्रश्नपत्र पठाउँदा केही विद्यालयहरुले तत्काल खोलेर प्रिन्ट गर्न नसक्दा पहिलो दिन समस्या आएको जानकारी दिए । भोजपुर , विराटनगरलगायतका स्थानका विद्यालयलाई प्रश्नपत्र निकाल्न समस्या भएको थियो ।

कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ। परीक्षा मंसिर १६ मा सकिनेछ । सैद्धान्तिकतर्फ कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन शुरु गरिएको हो ।
४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ। गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्