बिर्तामोड, मंसीर ९ । नेपालमा कानुनी व्यवस्थासहित आयकर सुरुवात भएको ६ दशक र भ्याट सुरु भएको दुई दशक पूरा भएको छ । नेपलामा भ्याट लागु भएको दिन मंसीर १मा राष्ट्रिय कर दिवसको रुपमा मनाउने गरिन्छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले पनि मङ्सिर १ देखि ७ गतेसम्म ९औँ राष्ट्रिय कर दिवस एवम् कर सप्ताह मनाएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरी मनाएको हो । यसै अवसरमा विगतका वर्ष झैं यस वर्ष पनि उत्कृष्ट करदाता, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई कार्यालयले सम्मान गरेको छ ।

हरेक वर्ष भव्य रुपमा मनाइने कर दिवस यसवर्ष कोभिड–१९ को महामारीको कारणले अन्य वर्षको तुलनामा सामान्य रुपले मनाइएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख युवराज श्रेष्ठले बताए । “हामीले सप्ताहव्यापी कार्यक्रम घोषणा गरी राष्ट्रिय कर सप्ताहको पहिलो सेवाग्राही अर्जुनधारा नगरपालिका–३ झापाका रामप्रसाद घिमिरेलाई सम्मान गरी कर दिवसको शुरुवात ग¥यो ।” आन्तरिक राजस्व कार्यालय भद्रपुरले विभिन्न क्षेत्रका करदातासँग भर्चुअल अन्तरक्रिया, कार्यालय सरसफाई कार्यक्रम, पत्रपत्रिकामा कर सम्बन्धी सचेतनामूलक सामाग्रीको पचार–प्रसार लगायतका काम गरी राष्ट्रिय कर दिवस एवम् कर सप्ताह मनाएको छ ।

उत्कृष्ट करदाता सम्मानित

यसैबीच, आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७६–०७७ मा कार्यालयको कार्यक्षेत्र अन्तरगत पर्ने झापा, इलाम, पाँचथर र ताप्लेजुङ्गमा रहेर सबैभन्दा धेरै आयकर बुझाउने चार करदातालाई सम्मान गरेको छ । आव ०७५–०७६ को आय विवरणका आधारमा सबैभन्दा बढी आयकर तिर्नेमा झापाबाट समीट लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ भने इलामबाट फिकल उत्तम स्टोर रहेको छ । पाँचथरबाट शिब गौरी सप्लायर्स र ताप्लेजुङबाट पाथिभरा हार्डवेयर सेन्टरलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय भद्रपुरले जनाएको छ ।

कार्यसम्पादनका आधारमा सम्मान

राष्ट्रिय कर दिवसको अवसरमा ३ जना कर्मचारीसमेत सम्मानित भएका छन् । आन्तरिक राजस्व कार्यालय भद्रपुर र यस अन्तरगतका करदाता सेवा कार्यालयहरुमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित भएका हुन् । आव. २०७६–०७७मा उत्कृष्ट कार्य सम्पादन गर्नेमा आन्तरिक राजस्व कार्यालय भद्रपुरका नासु. प्रद्युम्न न्यौपाने, करदाता सेवा कार्यालय फिदिमका कर अधिकृत किरण लिम्बु, र करदाता सेवा कार्यालय इलामका डाटा इन्ट्री सुपरभाईजर सोनाम वाङ्गदेल बर्फोङ रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्