बिर्तामोड , मंसिर १० । बिर्तामोडबाट विभिन्न दैनिक पत्रिका चोरी भएको छ।

बिर्तामोडको हिकोला चोकको अविनासी पत्रिका पसल अगाडि राखिएको कान्तिपुर दैनिकलगायत पत्रपत्रिकाको पोका चोरी भएको हो।
विभिन्न विक्रेताहरुको नाममा बिक्री वितरणको लागि राखिएको कान्तिपुर दैनिकलगायत विभिन्न पत्रिकाको पोका केही दिनयता दैनिकरुपमा चोरी भएको पत्रिका बिक्रेता जीवन रेग्मीले बताए। पत्रिका हराएर समस्या भएपछि प्रहरीलाई जानकारी गराइसकेको उनले बताए ।
वर्षौदेखि यसरी नै पत्रिका झारेर बिक्री वितरण हुँदै आएको भए पनि यसरी पत्रिका कहिल्यै नहराएको कान्तिपुर दैनिकका कर्मचारी योगराज अधिकारीले बताए। पुरानो कागजको अभाव भएको बेला नयाँ पत्रिका लगेर बिक्री गर्न पल्केको हुनसक्ने उनले बताए। एक पटकमा करिब ५ किलोको पत्रिकाको पोका हराउने गरेको बताइएको छ ।
बिर्तामोड तथा शनिश्चरेका लागि बिक्री वितरणका लागि कान्तिपुर,ब्लाष्ट, पूर्वाञ्चल, प्रतिदिन, पूर्वसन्देशलगायत पत्रपत्रिका त्यहाँबाट विभिन्न बिक्रेता वितरकहरुले लाने गरेका छन्। विराटनगर, दमक, बिर्तामोडबाट प्रकाशित हुने विभिन्न दैनिक पत्रिका विहान ४ बजे नै लामो समयदेखि एकै स्थानमा झार्ने गरिए पनि यसरी नहराएको अविनासी पुस्तक पसलका प्रोप्राइटर घनश्याम खनालले बताए। केही दिनअघि प्रतिदिन दैनिकको पोका त्यहीँबाट हराएको प्रतिदिन दैनिकका बजार प्रतिनिधि विनोद खरेलले बताए।
विराटनगरबाट पठाइएका पत्रिका चोरी भएको जानकारी दैनिकरुपमा आएको कान्तिपुर दैनिकको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख अनुजलाल कर्णले बताए। उनले पत्रिकाको सुरक्षाको लागि प्रहरीलाई निगरानी गरिदिन आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्