भद्रपुर, मंसिर १० ।चन्द्रगढी विमानस्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अविलम्व थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।

पछिल्लो डिपिआर अनुसार उत्तरपट्टि मूलगेटसहित टर्मिनल भवन तथा आवागमन कक्ष निर्माण हुने गरी कार्ययोजना तयार भएपछि दक्षिणपट्टिका स्थानीयले प्रमुखद्वार सार्न नहुने अडान राखेका कारण काम अगाडि नबढेको भन्दै उत्तरी बासिन्दाले संघर्ष थालेका हुन् ।
चन्द्रगढी विमानस्थल बचाउ संघर्ष समितिको नाम दिएर हिराप्रसाद पोखरेलको संयोजकत्वमा २१ सदस्यीय समिति समेत गठन गरिएको छ ।
गठित समितिको सह–संयोजक गोमा भट्टराई, सचिव महेन्द्र खतिवडा, सहसचिव निरज पोखरेल, सदस्यहरूमा राजेन्द्र रिजाल, कमला कार्की, पुरूषोत्तम अधिकारी, इशुभ पाण्डे, लावण्य पोखरेल, रमेश पोखरेल, डिल्लीराम पोखरेल, सुशिला बस्नेतलगायत २१ जना रहेका छन् ।
सरोकारवालाको भनिएको सो भेलाले दक्षिणपट्टिको मूल प्रवेशद्वार तथा प्रशासनिक भवन उत्तरमै निर्माण हुनु पर्ने माग गर्न गठित समितिलाई अधिकार प्रत्यायोजन समेत गरेको छ ।
कार्यक्रममा भद्रपुर ९ का कार्यवाहक अध्यक्ष रामप्रसाद दाहाल, महिला नेतृ सुशिला बस्नेत, नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराईलगायतले सम्बोधन गर्दै चन्द्रगढी विमानस्थलको स्तरबृद्धि कुनै बहानामा रोक्न नहुने भन्दै डिपिआर अनुसार अविलम्व काम थालिनु पर्ने माग राखेका थिए ।