राजगढ , मंसिर १० । पिसिआर परीक्षण नगरी अन्त्येष्टि गरिएको बाह्रदशी ३ राजगढ निवासी बुद्धराज थापाको परिवारलाई कोरोना संक्रमण पुष्टि भएपछि मानसिक तनाव भएको छ ।

मृतक बुद्धराज थापा

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत रहेका ६५ वर्षका थापाको हिजो बिहान निधन भएको थियो । मृत्युपछि आज मृतक परिवारका सदस्यको पिसिआर परीक्षण गर्दा थापाको छोराको रिपोर्ट पोजिटिभ आएको छ । थापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा निधन भएको थियो ।

कोरोनासँग लक्षण मिल्ने अत्यधिक ज्वरो , श्वासप्रश्वासको समस्या भएर हस्पिटल भर्ना गरिएपनि परिवारले पिसिआर परीक्षण गराएनन् । राजगढबाट बिएण्डसी हस्पिटलको इमर्जेन्सीमा लानेवित्तिकै उनको मृत्यु भएकाले पिसिआर परीक्षण गर्न नपाएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । कोरोनाले मृत्यु भएको शंकाका बीच थापाको शवलाई आफन्तले बिएण्डसीबाट दाहसंस्कारका लागि कनकाई माई लगेका थिए । कांग्रेस कार्यकर्ता एवं राजगढ बजारका पुराना व्यवसायी थापाको अन्त्येष्टिमा करिव ३ सय मलामी सहभागी थिए । थापाको शवलाई कांग्रेसका जिल्ला सभापति उद्धव थापा , नेताहरु राम दुलाल , ओमप्रकाश गौतम , उमाराम प्रसाई, गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलगायतले पार्टीको झण्डा ओढाएका थिए ।

कोरोनाको शंका लागेर आज थापाका श्रीमती र छोराको पिसिआर परीक्षण गराइएको थियो । त्यसमध्ये छोराको रिपोर्ट पोजिटिभ आएको छ भने श्रीमतीको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । संक्रमण सर्ने डर भएपछि भोलिदेखि आफन्त र मलामीहरुको पिसिआर परीक्षण गरिने गाउँपालिकाका एक जनप्रतिनिधिले बताए । थापालाई राजगढ पोलिक्लिनिकमा उपचार गर्दा स्थिति जटिल बनेपछि बिर्तामोड लगिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्