बिर्तामोड मंसिर ११ । अर्जुनधारा नगरपालिकामा स्थित शनिश्चरे अस्पतालमा आँखा तथा कानको उपचार सेवा शुरु भएको छ । उपचारका लागि अस्पताल आउने सेवाग्राहीलाई मध्यनजर गरेर सेवा शुरु गरिएको हो । अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले उपचार सेवाको शुभाराम्भ गरे । त्यस क्रममा उनले आँखा र कानको परीक्षण पनि गराएका थिए ।


अस्पतालले दशैं अघि नै सेवा शुरु गरेको भएपनि बिहिबारबाट औपचारीक रुपमा उद्घाटन गरेको हो । अस्पतालको वार्षिक नीति तथा कार्यक्रम अनुरुप सेवा विस्तार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. रविन्द्र ओलीले बताए । सेवा विस्तारसँगै आँखा तथा कानको उपचारका लागि यस अस्पतालमा आउने सेवाग्राहीले अन्य अस्पताल धाउनु पर्ने झन्झटबाट मुक्ति पाउने मेसु डा. ओली बताउँछन् । अस्पतालमा दैनिक ४ सय देखि ५ सय जनासम्म सेवाग्राही आउने गरेको डा. ओलीले जानकारी दिए ।


अस्पतालमा झापाको अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका इलामको माई नगरपालिका, सुर्योदय नगरपालिका र रोङ गाउँपालिकाका सेवाग्राही आउने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुष्पकुमार प्रसाईँले बताए । बिर्तामोड नगरपालिका–३ स्थित विर्ताबजारमा रहेको मेची दृष्टि आइ हस्पिटलको प्राविधिक सहयोगमा सेवा शुरु भएको हो । अहिले सोमबार र बिहिबार सेवा विस्तार गरिएको छ । विस्तारै सातै दिन सेवा उपलब्ध गराउने दृष्टिका संस्थापक सञ्चालक राम उप्रेतीले बताए । कार्यक्रममा नगरप्रमुख रानाले सेवा प्रवाहमा कुनै कमजोरी नगर्न सुझाए । आँखा र कानको उपचार हुन नसकेको अवस्थामा दृष्टिले यो सेवा पनि पूरा गरिदिएको भन्दै मेयर रानाले कृतज्ञ व्यक्त गरे । “समय सापेक्ष र आवश्यकताअनुसार अस्पतालको स्तर वृद्धि गर्दै लगेका हौँ”, उनले भने, “पहिलेभन्दा अहिले अस्पतालबाट प्रभावकारी काम भइरहेको आभाष भएको छ ।”


व्यवस्थापन समितिका अध्यक्ष प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा दृष्टिका संस्थापक सञ्चालक उप्रेतीले स्थानीय तहसँग सहकार्य गरी स्वास्थ्य सेवा दिन पाउँदा खुसी लागेको सुनाए । उनले सेवाग्राहीको चाप भएको अस्पताल तथा स्वास्थ्य केन्द्रमा दृष्टिले सहकार्य गर्ने पनि जानकारी गराए । दृष्टिका मेडिकल डाइरेक्टर शेषकान्त अर्यालले सहकार्यपछि ओपीडी सेवा निःशूल्क प्रदान गर्ने भन्दै आँखा तथा कानको उपचारमा स्वास्थ्य बीमाबाट पनि सुविधा लिन सकिने बताए । उनका अनुसार अब शनिश्चरे अस्पतालमा आँखा र कानका चिकित्सकसहित दृष्टिका ८ जना कर्मचारीले स्वास्थ्य सेवा दिनेछन् ।


२०५५ सालमा स्वीकृत प्राथमिक सेवा केन्द्रको स्तर बृद्धि गरी अस्पतालमा परिणत भएको यस अस्पतालले २४ घण्टे आकस्मिक सेवा, आमा सुरक्षा कार्यक्रम, भिडियो एक्सरे, एक्सरे, ल्याव, थाइराइड परीक्षण, इसीजी सेवा, ओपीडी र स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएको अस्पतालका सिनियर अहेव डम्बर बल्लभ मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्