झापा, मंसिर ११ । जैविक विविधताले भरिपूर्ण जलथल जंगलमा मुख्य समस्याको रुपमा रहेको माइकेनिया लगायतका मिचाहा प्रजातिले वनको अवस्था कमजोर बनाएकोमा सरोकारवालाहरुले चिन्ता गरेका छन् ।

जलथल जंगलमा माइकेनियाको बेलैमा व्यवस्थापन गर्न नसके यहाँको जैविक विविधता संरक्षण गर्न कठिन हुने उनीहरुको चिन्ता छ । मिचाहा प्रजाति नियन्त्रणसम्बन्धी पाथिभरा कालिका सामुदायिक वन हल्दिवारीमा आज सम्पन्न एक दिवसीय गोष्ठीका सहभागीहरुले त्यस्तो चासो र चिन्ता ब्यक्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले जलथल जंगलको जैविक विविधता संरक्षण गर्न वन समूहहरु लागिपरेर सही समयमा झाडी सफाई गर्नुपर्ने र केही मात्रामा महासंघले पनि सहयोग गर्ने धारणा राखे ।

माइकेनिया लगायतका मिचाहा प्रजातिले गर्ने दीर्घकालिन असर , यसको न्यूनीकरणलगायतका विषयमा फरेस्ट एक्सन नेपालका कार्यक्रम व्यवस्थापक डा. लिलानाथ शर्माले प्रकाश पारेका थिए ।
फरेस्ट एक्सन नेपालका सञ्जयराज तामाङले माइकेनिया लगायत अन्य मिचाहा प्रजातिहरुको प्रयोग गरेर कम्पोष्ट मल बनाएर यसलाई उपभोक्ताको आयआर्जनसँग जोड्न सकिने बताए । यस्तै सहभागीहरुका तर्फवाट चिरञ्जिवी पौडेलले रैथाने प्रजाति संरक्षण गर्न ,प्राकृतिक वनलाई सम्बद्र्घन गर्न मिचाहा प्रजाति हटाउनुको विकल्प नरहेको धारणा राखेका थिए । स्थानीय महासंघ हल्दिवारीका अध्यक्ष हेमराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा वन उपभोक्ता महासंघ झापाका उपाध्यक्ष प्रेमबहादुर घिमिरे , कोषाध्यक्ष गीता भण्डारी, खिम आङवो, चिरञ्जिवी पौडेल, धनबहादुर साँवा, टेकबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जलथल जंगल क्षेत्रअन्तर्गतका ९वटा सामुदायिक वनका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेकोे थियो । सामुदायिक वन उपभोक्ता महासंघ झापा र फरेस्ट एक्सन नेपालको संयुक्त आयोजनामा भएको सो कार्यक्रमको सञ्चालन देविका अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्