बिर्तामोड , मंसिर ११ । विद्यालयका प्रधानाध्यापक बद्री बाँस्कोटाले शिक्षक इन्द्र बाँस्कोटालाई पिटेको विषयलाई लिएर अभिभावकहरुले बिर्तामोड १० स्थित विराट आधारभूत विद्यालयमा तालाबन्दी गरेका छन् ।

विद्यालयभित्रै शिक्षक पिट्दा प्रअ बाँस्कोटाले आत्मालोचना गर्नुको साटो घटनालाई दबाउन खोज्दै अन्य शिक्षकहरुलाई पनि दमन गर्न खोजेको भन्दै अभिभावकहरुले आज तालाबन्दी गरेका हुन् । प्रअ बाँस्कोटाले शिक्षक बाँस्कोटालाई गत कात्तिक २५ गते कार्यालयभित्रै बेस्सरी पिटेका थिए । सूचना नदिँदा विदाको दिन आफूले धुलाबारीदेखि विद्यालय आएर दुख पाएको गुनासो शिक्षक बाँस्कोटाले प्रअसमक्ष राखेका थिए । त्यही विषयमा दुवैबीच भनाभन हुँदा प्रअले झापडले हानेर शिक्षक बाँस्कोटालाई भुइँमा लडाइदिएको प्रत्यक्षदर्शी शिक्षकहरु बताउँछन् । त्यस घटनालाई लिएर नगरपालिकाले दुवैलाई छलफलमा बोलाएको थियो । छलफलमा प्रअ बाँस्कोटाले आत्मालोचना नगरेपछि अभिभावक र शिक्षकहरु आन्दोलित बनेका हुन् । त्यस विषयमा बुझ्न प्रअ बाँस्कोटालाई बोलाउँदा उनले आफू विरामी भएको भन्दै विद्यालय नआएपछि तालाबन्दी गरिएको स्थानीय पुनम प्रसाईले बताए । उनले त्यस विषयमा अभिभावकहरुको भेला बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्